Logo

२ श्रावण २०८३, शनिबार

चौरीखर्क : प्रकृतिको अलौकिक क्यानभास (तस्बिरहरु)


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


साउन २, रुकुम पूर्व । जहाँ बुकीफूल र बादलले हिमालसँग लुकामारी खेल्छ, जहाँ बादलले पहाडलाई छुन्छ र धर्तीमा रङ्गीबिरङ्गी लेकाली फूलहरूले स्वर्गको भिन्नै कथा बुन्छन्। अनि बुकी फूलहरु र प्रकृतिले एउटा भिन्नै कथा सुनाउँछन्। प्रकृतिको एउटा अलौकिक क्यानभास, यो हो पूर्वी रुकुम र बागलुङको सिमानामा पर्ने चौरीखर्क।

पुथा उत्तरगंगा गाउँपालिका–११ र भूमे गाउँपालिका–१ को संगमस्थलमा पर्ने चौरीखर्क करिब ४ हजार ३ सय मिटरभन्दा बढी उचाइमा अबस्थित छ।

चौरीखर्कमा छिनमै पानी पर्छ, छिनमै घाम लाग्छ, अनि छिनभरमै कुहिरोले ढपक्क ढाक्छ। यहाँ पुग्दा स्वर्गकै अनुभुती हुन्छ, चिसो सिरेटो अनि कुहिरोभित्र हराउदा जोकोहीको मन आनन्दित बनाउछ। रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौकीखर्कसम्म तान्न पर्याप्त छन्।

विगतमा यो ठाउँ गाई गोठालाहरूका लागि मात्रै परिचित थियो। तर, हाल विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल फेसबुक, टिकटक मार्फत अहिले प्रचार बढेसँगै यहाँको सुन्दरता हेर्न आउने बाह्य पर्यटकहरूको संख्या तीव्र हुँदै गएको छ।

पातिहाल्न नजिकै बाट करिव ३ घण्टाको पैदलमार्ग भएर हरिया डाँडाहरु हेर्दै, उत्तरतर्फ देखिने हिमशृङ्खला सँग नजिकैबाट सुन्दर साक्षात्कार गर्दै, हिड्दै, एकछिन सुस्ताउँदै अनि एकछिन थकाइ मार्दै प्राकृतिको काखमै झुम्न चाहनेहरुका लागि यो ठाउँ उपयुक्त थलो बनेको छ।

चौरीखर्क बागलुङ र पूर्वी रुकुमको पर्यटन नक्सामा उदाउँदै गएको पर्यटनको नयाँ आयाम बन्दैछ। पर्यटकहरुलाई चौकीखर्कसम्म तान्न चौरीखर्कको पहिलो भिउँ पोइन्ट सम्म पुग्ने मोटर बाटोको स्तरोन्नति गर्न तत्काल आवश्यक देखिन्छ।

यस ठाउँको उचित प्रचारप्रसार, यहाँको पूर्वाधार विकास र यहाँको पद मार्गलाई व्यवस्थित बनाउन सम्बन्धित निकायले बेलैमा ध्यान दिए निकट भविष्यमा नेपालकै मुख्य पर्यटकीय हब बन्ने सम्भावना बलियो देखिन्छ।


प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार १७:४८

प्रतिक्रिया दिनुहोस्