Logo

२६ असार २०८३, शुक्रबार

बागचौरमा नगरस्तरीय शैक्षिक अन्तरक्रिया तथा वृहत् शिक्षक सम्मेलन भव्य रुपमा सम्पन्न


खबर ग्यालरी


असार २१, सल्यान ।
सल्यानको बागचाैर नगरपालिकामा दुई दिनसम्म सञ्चालन भएको नगरस्तरीय शैक्षिक अन्तरक्रिया तथा वृहत् शिक्षक सम्मेलन तथा १३ बुँदे सामूहिक प्रतिबद्धतापत्र जारी गर्दै सम्पन्न भएको छ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमको अध्यक्षतामा सम्पन्न सम्मेलनमा नगरभित्र रहेका ७४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

दुईदिने सम्मेलनमा प्रशिक्षक नारायण सिग्देल र सुन्दर गौतमले विभिन्न विषयगत सेसनमा सहजीकरण गर्नुभएको थियो। उहाँहरूले प्रभावकारी शिक्षण–सिकाइ, शिक्षकको पेशागत विकास, कक्षाकोठा व्यवस्थापन, नेतृत्व विकास, सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रयोग, सिकाइ उपलब्धि अभिवृद्धि, विद्यालय सुधार योजना तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनका विषयमा प्रस्तुति तथा अन्तरक्रिया सञ्चालन गर्नुभएको थियो।

सम्मेलनको अवसरमा २०७४ सालदेखि हालसम्म सेवा निवृत्त भएका शिक्षकहरूलाई शिक्षा क्षेत्रमा पुर्‍याएको अमूल्य योगदानको कदरस्वरूप सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

सम्मेलनले आगामी शैक्षिक सुधारका लागि १३ बुँदे सामूहिक प्रतिबद्धतापत्र समेत जारी गरेको छ।

प्रतिबद्धतामा विद्यालयहरूबीच सिकाइ सञ्जाल गठन गर्ने, न्यूनतम शैक्षिक तथा भौतिक मापदण्ड कार्यान्वयन गर्ने, वार्षिक शैक्षिक समीक्षा गर्ने, उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी र कर्मचारीलाई प्रोत्साहन गर्ने, शिक्षालाई सिप, श्रम र उत्पादनसँग जोड्ने, कक्षाकोठालाई बालमैत्री तथा विद्यार्थी केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस्तै शिक्षक–अभिभावक–समुदायको साझेदारी सुदृढ गर्ने, सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रभावकारी प्रयोग गर्ने, अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषयमा विशेष सुधार अभियान सञ्चालन गर्ने, शिक्षा सुधार कोष स्थापना गर्ने, समयसीमासहित कार्ययोजना तयार गर्ने, प्रत्येक विद्यालयलाई कम्तीमा एक क्षेत्रमा उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्ने तथा IEMIS, शिक्षा ऐन, नियमावली र शिक्षा सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम,नगर उपप्रमुख सुम्निमा डि.सी. वली , प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर भट्टराई, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु, शिक्षा शाखाका कर्मचारीहरु, शिक्षक महासंघका प्रतिनिधि, पत्रकार तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

नगरपालिकाले सम्मेलनबाट प्राप्त निष्कर्ष तथा १३ बुँदे सामूहिक प्रतिबद्धतापत्रलाई आगामी शैक्षिक नीति तथा कार्यक्रम कार्यान्वयनको आधारका रूपमा लिइने बताएको छ ।

शिक्षक सम्मेलनले शिक्षकहरूबीच अनुभव आदान–प्रदान, साझा प्रतिबद्धता र सहकार्यको वातावरण निर्माण गर्दै बागचौर नगरपालिकाको शिक्षा क्षेत्रलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।


प्रकाशित मिति: २१ असार २०८३, आईतवार २०:२८

प्रतिक्रिया दिनुहोस्