Logo

७ श्रावण २०८३, बिहीबार

बागचौर नगरपालिकामा सहकारीको वर्तमान अवस्था र भविष्य


हेमन्त बस्नेत


सल्यान १६, असार ।

विषय प्रवेश :
सहकारी भन्नाले एउटै उद्देश्य, लक्ष्य बोकेका मानिसहरुबीचको सहकार्य, सहअस्तित्व र समन्वयलाई बुझिन्छ । समाजमा छरिएर रहेको स–सानो पँुजीलाई परिचालन गरि रोजगारी सिर्जना, आर्थिक तथा सामाजिक उन्नयन, उद्यमशिलता प्रवद्र्धन जस्ता कार्य सहकारी संस्थाले गर्दछ । सहकारीका सम्बन्धमा धेरथोर जानकारी पाठक वर्गमा छ भन्ने अपेक्षा पंक्तिकारको रहेको छ ।

वर्तमान अवस्था :
उपभोक्ता सहकारी,उत्पादक सहकारी, बहुउद्देश्यीय सहकारी, बचत तथा ऋण सहकारी गरि चार प्रकारका सहकारी सल्यानको बागचौर नगरपालिकामा रहेको पाइन्छ । हालसम्म डिभिजन सहकारीमा दर्ता भई बागचौर नगरपालिकालाई हस्तान्तरण गरेका र स्थानिय तह भएपछि दर्ता भएका गरि कुल ३३ सहकारी बागचौर नगरपालिकाको मातहतमा रहेका छन् । जसमा आधा जसो सहकारी निष्क्रिय रहेका छन् । केहि सहकारीले मलखादको कारोबार गर्ने बाहेकको कार्य गर्न सकेका छैन्न । त्यस्तै प्राय सहकारी आफ्नो लक्ष्य अनुरुप सञ्चालन हुन सकेका छैन्न ।

सहकारीका सिद्धान्त अनुरुप सहकारी संचालन गर्न यस बागचौर नगरपालिकाले सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापकलाई सहकारी व्यवस्थापन तथा सहकारी लेखापालन तालिम आ.व.२०७८/०७९ मा सञ्चालन गरिसकेको छ ।

भविष्य :
अनुदानमुखी तथा व्यक्तिगत स्वार्थमा सहकारी संचालन नगरी समग्र शेयर सदस्यको आर्थिक सामाजिक अवस्था उकास्न उद्यत रहने हो भने सहकारीको भविष्य उज्ज्वल छ । सहकारी संस्था नाफाको उद्देश्यले नभई समाज रुपान्तरण तथा सामुहिक हितका लागि स्थापना र विकास गर्न जरुरी छ ।

सहकारी क्षेत्रको विकासका लागि सामुहिक उत्पादन, उन्नत बीउबिजनको उत्पादन, स्थानीय उत्पादनको भण्डारण, प्रशोधन, प्याकेजिङ, बजारीकरण गर्न चाहने कृषि सहकारी संस्थाहरुले बैंक मार्फत लिने ऋणमा व्याज अनुदान प्रदान गर्न सक्नुपर्दछ ।

त्यस्तै कृषि, पशुपन्छी, माछापालन आदि कृषि व्यवसाय र अन्य स्व–रोजगारमूलक व्यवसाय संचालन गर्न चाहने र गरिरहेका युवाहरुलाई सहकारी संस्था मार्फत लिने ऋणमा व्याज अनुदान प्रदान गर्ने लगायतका सहकारी मैत्री नीति स्थानिय तहले अंगिकार गर्ने हो भने भविष्यमा सहकारीको विकासमा टेवा पुग्ने देखिन्छ ।

स्थानीय स्तरमै रोजगारी सिर्जना, कृषि उत्पादनमा बढोत्तरी र उत्पादित वस्तुको बजारीकरण गरि आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सहकारी क्षेत्रको भुमिका बढाउनुपर्ने देखिन्छ ।

लेखक: सल्यानको बागचौर नगरपालिका सहकारी शाखामा कार्यरत हुनुहुन्छ ।


प्रकाशित मिति: १६ असार २०७९, बिहीबार २१:४१

प्रतिक्रिया दिनुहोस्