असार १७, सल्यान
सल्यानको त्रिवेणी गाउँपालिकाका चार कृषक गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् । गाउँपालिकाले कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरे बापत चारजना कृषकलाई सम्मान गरेको हो ।
यस वर्ष गाउँपालिका अध्यक्ष सर्वोत्कृष्ट पुरस्कारबाट त्रिवेणी गाउँपालिका- ५ ढोरचौर बाख्रा पालन व्यवसायी नेत्रलाल खड्का सम्मानित हुनुभएको छ । उहाँलाई नगद रु ५० हजार सहित सम्मान गरिएको हो ।
यस्तै गाउँपालिका अध्यक्ष उत्कृष्ट पुरस्कारबाट त्रिवेणी -४ फलाबाङमा भैसीपालन गर्दै आउनुभएका कुल बहादुर भण्डारीले रु २० हजार सहित सम्मानित हुनुभएको छ ।
यसैगरी त्रिवेणी-२ का कर्ण बहादुर थापा र त्रिवेणी-६ सिमापाखाका रत्न बहादुर रेउलेले तरकारी खेतीबाट गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट रु २० हजार सहित सम्मानित हुनुभएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनले कृषि क्षेत्रमा पछिल्लो समय केही सुधार देखिएको बताउँदै धेरै मेहनत गरेर राम्रो काम गरेका किसानहरूबाट अरूले पनि सिक्नुपर्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: १७ असार २०७९, शुक्रबार ०६:१७

