असार २३, सल्यान ।
सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्ट जडान गरेसँगै अब अक्सिजन सिलिन्डर रिफिल गर्न अन्य जिल्ला जानुपर्ने बाध्यता हटेको छ ।
बिहीबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख जसबिर ओलिले जिल्लाकै पहिलो अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको हो ।
यसअघि जिल्लामा अक्सिजन प्लान्ट नहुँदा खाली सिलिन्डर रिफिल गर्नका लागि दाङ, नेपालगन्ज र सुर्खेत लगायतका ठाउँमा जानुपर्ने बाध्यता थियो ।
फिलिङ सिस्टम सहितको प्लान्टबाट ४० लिटर क्षमताको सिलिन्डरमा दैनिक ४० देखि ४८ थान भर्न सकिने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ कुमार श्रेष्ठले बताउनु भएको छ । जिल्लामा अक्सिजन नपाएर कसैले पनि ज्यान गुमाउनु पर्दैन र प्लान्ट हुदै पाइप लाइनबाट बेडमा अक्सिजन जडान हुनेभएकाले छुट्टै सिलिन्डर पनि भर्न सकिने उहाँको भनाइ छ ।
कोरोना कहरका समयमा अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाएका थिए । जडान गरिएको प्लान्टबाट अस्पतालमा मात्रै नभई जिल्लाभरि नै अक्सिजन अभाव नहुने अस्पताल बिकास समितिका अध्यक्ष सिपि ओलिले बताउनुभएको छ ।
अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्ने भएपछि सल्यानसँगै छिमेकी जिल्ला रोल्पा तथा रुकुमका नागरिकलाई समेत अब सहज हुने अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक १ सय पचास देखि २ सय जना सम्म बिरामीहरू उपचारका लागि आउने गर्दछन् ।
प्लान्ट उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख जसबिर ओलि, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सी, शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनार, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नवीन पौडेल लगाएतले मन्तव्य राख्नु भएको थियो ।
अस्पताल सबै नागरिकहरुको भएकाले विकासको लागि सबैले सहकार्य गरि अस्पताललाई प्राप्त बजेट सहि तरिकाले सदुपयोग गर्नुपर्ने कार्यक्रमका बक्ताहरुले जोड दिनुभएको थियो ।
प्रकाशित मिति: २३ असार २०७९, बिहीबार २०:४३

