साउन १९, सल्यान ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता मृत फेला पर्नुभएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर भएका पार्टीका विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज तथा जिल्ला नेता लोकमान के.सी. (लोकपाल) आज बिहान मृत फेला पर्नुभएको हो ।
जिल्लाको बागचौर नगरपालिका–१० मोखला नजिकै झोला बोकेकै अवस्थामा धान खेतमा घोप्टो परेको अवस्थामा उहाँ मृत फेला पर्नुभएको हो ।
मोखलाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट लडेको जस्तो देखिएको भएपनि घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
अहिले पोस्टमार्टमका लागी उहाँलाई जिल्ला अस्पताल सल्यानमा ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रकाशित मिति: १९ श्रावण २०७९, बिहीबार १७:५२

