Logo

७ श्रावण २०८३, बिहीबार

सल्यानका विभिन्न ठाँउमा नमूना मतदान


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


सल्यान, १८ कार्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको (मतदाता शिक्षा) नमूना मतदान कार्यक्रम जिल्ला निर्वाचन कार्यालय सल्यानको आयोजनामा जिल्लाका ३ ठाँउमा सम्पन्न गरिएको छ ।

एक प्रतिनिधी सभा र दुई प्रदेश सभा रहेको सल्यानमा बदर मत घटाउन नमूना मतदान गरिएको हो । जिल्लाका ३ वटा पालिकामा आज नमूना मतदान प्रदर्शनी भएको हो । सल्यानको बागचौर नगरपालिकाको कार्यालय, दार्मा गाउँपालिकाको कार्यालय, शिद्धकुमाख गाउँपालिकाको निराजन मा.वि. मा नमूना मतदान भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

निर्वाचन कार्यालय सल्यानका प्रमुख निमराज भट्टराईले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उदेश्यले नमूना मतदान गरिएको बताउनुभयो । उँहाका अनुसार निर्वाचनमा मतदान गर्ने तरिका लगायतका विषयमा जानकारी दिन कार्यक्रम सञ्चालन गरिएको हो ।

यस्तै निर्वाचन कार्यालयले स्थानीय तहको एकजना अधिकृत तहको कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति (अनुगमन अधिकृत) को रूपमा जिम्मेवारी तोकेको छ । नमूना मतदान कार्यक्रममा निर्वाचन कार्यालयले स्थानीय मतदातासँग बसेर भोट कसरी हाल्ने, भोट हालेपछि मतपत्र कसरी पट्याउने लगायतका विषयमा जानकारी गराएको थियो ।

यस्तै सल्यान जिल्लाका सबै निर्वाचन क्षेत्रका वडा र टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न महिला स्वयंसेविकालाई समेत परिचालन गरिएको छ । स्थानीय पालिकाहरुबाट निर्वाचन सम्बन्धी आवश्यक तालिम लिएका ८३ महिला स्वयंसेविकालाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरिएको छ । उनिहरुले मतदाता शिक्षा घरदैलो सम्म पुर्याउनेछन् ।


प्रकाशित मिति: १८ कार्तिक २०७९, शुक्रबार २१:४२

प्रतिक्रिया दिनुहोस्