Logo

२४ बैशाख २०८१, सोमबार

एकाबिहानै सल्यानको कुपिण्डे तालमा : (भिडियो कथा)


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


मंसिर २३, सल्यान ।
सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा पर्ने कुपिण्डे ताल हिजोआज फरक आकारमा देखिन्छ ।

केही महिना अगाडि परेको लगातारको ७ दिनको बर्षाले कुपिण्डे ताल नजिकै रहेको मन्दिर नै डुवानमा पर्यो । पानीको बहाफ धेरै भएपछि नजिकै रहेका चाैरहरुलाई कुपिण्डेको पानीले ढपक्क ढाक्यो, जसले गर्दा कुपिण्डे ताल पुरै जलमग्न भएर नयाँ आकार लियो ।

सल्यानको कुपिण्डे तालमा पुग्दा हुस्सु लागेको थियो । कुपिण्डे तालको पानीबाट बाफ उड्दै गरेको मनोरम दृश्यले मन मोहित बनाइरहेको थियो । कुपिण्डेको चिसो सिरेटाेमा शरीरलाई न्यानो बनाउन कोही आगो तापिरहेका भेटिन्थे ।

घामका किरणहरु बिस्तारै सुन्दर कुपिण्डे तालमा स्पर्श गर्दैथियो । मन्दिरका पुजारी पूजापाठमा व्यस्थ देखिन्थे भने भक्तजन र पर्यटकहरु कुपिण्डे तालको मनमोहक दृश्यलाई आफू सँगै फोटाेमा उतार्न व्यस्थ देखिन्नथे । ताल छेउमै रहेका टहराहरु डुवानमा परेका देखिन्नथे । कोही विहानै कुपिण्डेको चिसो पानीमा स्नान गर्न तालमै छिरेका थिए त कोही ताल छेउमै पूजाआज गर्दै थिए ।

कुपिण्डेको चिसो हावा र त्यहाँको अलाैंकिक सुन्दरताले मनलाई आन्नदित बनाइरहेको थियो । जाडाे याममा कमै देखिने पर्यटकका कारण ताल नजिकै रहेका करिब २० वटा डुङ्गा मध्य ४ वटा डुङ्गा मात्र अहिले संचालनमा आएका रहेछन् ।

बर्षा, हिउँद र गर्मी याम गरेर परापुर्वकाल देखि वर्षमा ३ वटा रङ्ग बदल्ने कुपिण्डे ताल साच्चिकै मुस्कुराइरहेछ, आफ्नै अलाैंकिक हासो हासिरहेछ, त्यसैले त सल्यानको कुपिण्डे ताल पर्यटकको पर्खाइमा बसिरहेछ ।

हेर्नुहोस् भिडियो :


प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार ०९:०४

प्रतिक्रिया दिनुहोस्