पुस १४, सल्यान ।
सल्यानको बागचाैर नगरपालिकाले योजनाहरु वडाबाटै सम्झौता गर्न सुरु गरेको छ ।
नगरपालिकाले एकिकृत योजना सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेर योजनाहरु अब वडाबाटै सम्झौता गर्ने कार्यको थालनी गरेको हो ।
हिजो बुधबार एक कार्यक्रम बिच बागचाैर नगरपालिकाले नगरको वडा नम्बर १२ मा योजनाहरुको सम्झौता गरेको हो । नगर भित्रको वडा नम्बर १२ मा हिजो मात्रै १२ वटा याेजनाहरुकाे सम्झौता गर्ने कार्य सँगै बैंक खाता खाेल्ने काम समेत सम्पन्न भएको बागचाैर नगरपालिकाले जनाएको छ ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे अनुरोधमा र बैंक संगकाे सहमतिमा उक्त कार्यकाे थालनी गरिएको हाे । जनताको सहजताको लागि उक्त कार्यको थालनी गरिएको बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले बताउनुभयो । पहिले नगरपालिका सम्म आएर याेजनाहरुको सम्झौता गर्दा असहज भएको हुदा, अब देखि वडामै नयाँ याेजना सम्झौता गर्ने र बैंक खाता खाेल्न मिल्ने सुबिधा भएपछि उपभोक्ता समितिका पदाधिकारीहरुलाई सहज हुने नगर प्रमुख गाैतमको भनाइ छ ।
बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, वडा नम्बर १२ का वडा अध्यक्ष टीकाराम वली, याेजना शाखामा कार्यरत कर्मचारीहरु, वडाका जनप्रतिनिधि, वडा सचिव, प्राबिधिक कर्मचारीहरु र ग्लोबल आइएमई बैंक लिमिटेड थारमारेका कार्मचारीहरुको उपस्थितिमा वडा बाटै योजना सम्झाैताको काम अगाडि बढाइएको बागचाैर नगरपालिकाले जनाएको छ ।

यस्तै अन्य वडामा पनि एकिकृत योजना सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम क्रमश गर्दै जाने बागचाैर नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार ०६:५२

