चैत २७, सल्यान ।
सल्यानको बागचाैर नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र थारमारे बजारमा अस्थायी संरचनाहरु हटाएको छ ।
बागचाैर नगरपालिका र सडक डिभिजन कार्यालय दाङको समन्वयमा कालाे पत्रे तथा नाली निर्माण गरिने भएपछि थारमारे बजारमा अस्थायी संरचनाहरु हटाएको हो ।

थारमारे बजार क्षेत्र भित्र पर्ने राप्ती राजमार्गकाे दायाँबायाँ, जनकल्याण नमुना माध्यमिक विद्यालयकाे प्रवेश द्वार सम्म र चाैरजहारी राेड सम्मकाे खाली ठाउँमा कालाेपत्रे तथा नाली निर्माण गरिने भएपछि सडकमा अव्यवस्थित तरिकाले बनाएका संरचनाहरुमा सोमबार बागचाैर नगरपालिकाले डोजर चलाएको हो ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे निर्देशन तथा बागचाैर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपेस डि.सी, अन्य जनप्रतिनिधि, थारमारे बजार व्यवस्थापन समिति, व्यापारीहरु लगायतको सहयोगमा अव्यवस्थित संरचनाहरु हटाइएको थियो ।
थारमारे बजारमा बर्खा याममा पानी जाने नालीको निकाश नहुँदा र बजार क्षेत्र व्यवस्थित नहुँदा यहाँका व्यापारीहरु तथा यात्रुहरूले सास्ती भोग्दै आएका छन् ।
#तस्बिर: सन्जीव देवकोटा
प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार २१:०९

