असार ३, सल्यान ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ बागचाैरमा २०८० जेठ १४ गते देखि जेठ २१ गतेसम्म संचालन भएको महायज्ञ पुराणको आयोजक समितिले आय व्यय सार्वजनिक गरेकाे छ ।
हिजो शनिबार बागचाैरमा एक कार्यक्रमको आयोजना गर्दै आयोजक समितिले आय व्यय प्रस्तुत गरेको हो ।
बागचौर नगरपालिकाको आर्थिक सहयोग र जेष्ठ नागरिक सेवा समाज नेपाल बागचौर नगर कार्यसमितिको आयोजनामा ७ दिनसम्म बागचाैरमा श्रीमद्भागवत ज्ञान महायज्ञ संचालन भएको थियो ।
ज्येष्ठ नागरिक सेवा समाजका बागचौर नगर समिति सचिव दिपेन्द्र शर्माले शनिबार आय व्यय प्रस्तुत गर्दै दानवीर दाताहरुबाट उठेको रकम ३३ लाख ६० हजार ८१ रुपैयाँ भएको बताउनुभएको छ । यस्तै बागचौर नगरपालिकाकाबाट आर्थिक सहयोग स्वरुप १० लाख गरि जम्मा रकम ४३ लाख ६० हजार ८१ रुपैयाँ संकलन भएको र खर्च १६ लाख २१ हजार ८ सय १० रुपैयाँ भएको उहाँले जानकारी दिनुभयो।

यस्तै कार्यक्रममा बोल्दै जेष्ठ नागरिक सेवा समाजका बागचौर नगर समिति अध्यक्ष युवराज गौतमले पूण्य आर्जन गर्ने, धर्म संस्कृतिको रक्षा गर्ने, बागचौर नगरपालिकाको पहिचान गराउने उद्देश्य राखी महायज्ञ सप्ताह पुराण संचालन गरिएको बताउनुभयो ।
यस्तै बचत भएको रकमको सहि सदुपयोग गर्दै निकट भविष्यमा ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण कार्य अगाडि बढाउने, यसका साथै उचित र व्यवस्थित स्थानमा जग्गा दिने जग्गादाताको खोजी गरिरहेको समेत उहाँले बताउनुभयो ।
प्रकाशित मिति: ३ असार २०८०, आईतवार ०५:४४

