Logo

७ श्रावण २०८३, बिहीबार

दूध उत्पादन बढाउने उदेश्य राख्दै बागचाैर नगरपालिकाको वडा नं.७ मा भैंसी वितरण


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


असार १३, सल्यान ।
व्यवसायलाई विस्तार गरी दूध उत्पादन बढाउने उदेश्यले सल्यानको बागचाैर नगरपालिकाका किसानलाई उन्नत जातका भैंसी वितरण गरिएको छ ।

जिल्लाको बागचाैर नगरपालिका वडा नं. ७ काे शारदा भैंसी पालन कृषक समूहका सदस्यहरुलाई आज १८ वटा उन्नत जातका भैंसी वितरण गरिएको हाे । 

एक पालिका एक पशु उत्पादन कार्यक्रम अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय, बागचाैर नगरपालिका र किसानको साझेदारीमा भैंसी वितरण गरिएको बागचाैर नगरपालिकाले जनाएको छ ।

पछिल्लो समयमा व्यवसायिक भैंसीपालनमा किसानहरुको आकर्षण बढ्दै गएकाले व्यवसायप्रति उत्साहित गर्न र दूध उत्पादनबाट मनग्ने आम्दानी गराउने उद्देश्यका साथ बागचाैर नगरपालिका वडा नम्बर ७ का किसानलाई २२ लाख ४० हजार रुपैयाँ बराबरको उन्नत जातको भैंसी वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जानकारी दिनुभयो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयको रु. १५ लाख, बागचाैर नगरपालिकाको रु. ३ लाख र स्थानियको रु. ४ लाख ४० हजार गरेर रु. २२ लाख ४० हजार बराबरका उन्नत जातका भैँसी वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

यस्तै भैंसी वितरण कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्दै दूधको उत्पादन बढाउने र उनीहरूलाई आत्मनिर्भर बनाउदै आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातका भैंसी वितरण गरिएको बताउनुभएको छ  ।

भैंसी वितरण कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी. वली, बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेश डि.सी., वडा नं. ७ का वडा अध्यक्ष प्रेम बहादुर डाँगी, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका डाक्टर जयन्त महत, रमेश राज शर्मा, स्थानीय किसानहरु लगायत वडा वासीहरुकाे उपस्थिति रहेकाे थियाे ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार २०:१०

प्रतिक्रिया दिनुहोस्