Logo

२४ बैशाख २०८१, सोमबार

सल्यानको श्रीनगरमा आजदेखि बृहत सल्यान महोत्सव सुरु


खबर ग्यालरी


पाैष २६, सल्यान ।
सल्यानको श्रीनगरमा आजदेखि बृहत सल्यान महोत्सव २०८० सुरु भएको छ ।

श्रीनगरमा उद्योग व्यापार, कृषि, पशु वन तथा सल्यानको शान, मौलिक कला संस्कृति संरक्षण प्रतिष्ठानको अभियान भन्ने मुल नाराका साथ सांस्कृतिक झाँकीहरुको र्‍याली  सहित आज एक कार्यक्रम बिच महोत्सवको उद्घाटन गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानको आयोजनामा संचालन भएको महोत्सवको उद्घाटनको आज पहिलो दिन सल्यानका विभिन्न मौलिक नाचहरु पैसेरू, दमाहा नाँचको झाँकी प्रदर्शनी गर्दै महोत्सवको उद्घाटन गरिएको हो ।  

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले महोत्सवले समग्र सल्यान र कर्णालीको कृषि, पशु तथा घरेलु उत्पादित बस्तुहरुको बजारिकरण र प्रचारप्रसारमा उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो । महोत्सवले सल्यानको कला सांस्कृति र स्थानिय उत्पादन सँगै घरेलु उत्पादित बस्तुहरुको प्रवर्द्धनमा सहयोग पुर्याउने उहाँको भनाइ छ ।

सल्यानमा कलाघर निर्माण सँगै सल्यानमा कलाकार निर्माण गर्ने, माैलिक कला संस्कृतिलाई संरक्षण गर्ने महोत्सवको मुख्य उदेश्य रहेको मेला व्यवस्थापक एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानका अध्यक्ष प्रेम नारायण विकले खबर ग्यालरीलाई जानकारी दिनुभयो ।

यसका साथै महोत्सवमा लोपोन्मुख मौलिक कला संस्कृतिको प्रदर्शन गरि संरक्षण गर्ने, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षि र पर्यटन प्रवद्र्धन र घरेलु सामाग्रीहरुको प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो । महोत्सवमा ३० हजार बराबरका दर्शकले मेला अवलोकन गर्ने र झण्डै ५० लाख बराबरको कारोवार हुने उहाँको भनाइ छ । 

आयोजकका अनुसार आज पाैष २६ गते देखि सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्नेछ ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार २०:२४

प्रतिक्रिया दिनुहोस्