Logo

६ श्रावण २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डद्धारा दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन


खबर ग्यालरी


वैशाख २८, सल्यान ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयताको सफल कार्यान्वयन अहिलेको अपरिहार्यता भएको बताउनुभएको छ ।

दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको बताउनुभयो ।

शुक्रवार सल्यानको दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै स्थानीय तहले सङ्घीयताको असल अभ्यास गर्न सकेमा प्राकृतिक स्रोत साधनको संरक्षण र बहुआयमिक परिचालन, ग्रामीण अर्थतन्त्रको सशक्तिकरण, सामाजिक सूचकहरूमा बढोत्तरी लगायतका रणनीतिक महत्त्वका कामहरूको साथै सेवा प्रवाहका क्षेत्रमा महत्त्वपूर्ण काम गर्न सकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहको साझा अधिकार सूचिसमेतको सही अभ्यास हुँदा स्थानीय तहले ग्रामीण अर्थतन्त्रको सबलीकरणसहित राष्ट्रिय अर्थतन्त्र निर्माणमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन जारी हुने बित्तिकै सल्यान, रोल्पा, रुकुम लगायतका जिल्लाहरूमा तत्कालिन जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सहज हुने उल्लेख गर्नुभयो । सल्यान जिल्ला अस्पताललाई ५० बेडको पूर्ण क्षमतामा सञ्चालन गर्ने, सल्यान क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा विकास गर्ने बताउँदै प्रधानमन्त्री दाहालले सल्यानका पर्यटकीय तथा धार्मिक क्षेत्रहरु खैरावाङ, छत्रेश्वरी, कुपिण्डे ताल लगाएतका क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा पूर्वाधार विकास गरिने बताउनुभयो ।

‘दार्मा गाउँपालिकामा दुग्ध सहकारीहरू मार्फत दूध पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम सञ्चालन भैरहेको सन्दर्भमा दुग्धक्षेत्रको विकास र पशुपालनलाई व्यवस्थित गर्नका लागि सरकारले सक्दो सहयोग गर्ने उँहाले बताउनुभयो । दार्मा गाउँपालिकाको मुकाम फारूला छोएर रोल्पाबाट सल्यान, रुकुम पश्चिमको चौरजहारी, जाजरकोट हुँदै रारा जोड्ने सडकको कालोपत्रेका लागि सरकारको तर्फबाट आवश्यक पहल लिने उँहाले बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आर्थिक सम्पन्नता र सामाजिक न्याय मुख्य आवश्यकता रहेको उल्लेख गर्नुभयो । भुकम्प प्रभावित क्षेत्र सल्यान र त्यसमा पनि दार्मा गाउँपालिका सबै भन्दा बढि प्रभावित भएकाले पुनर्निर्माणको लागि यो क्षेत्र छुट्न नहुने उहाँको भनाइ छ । सल्यानबाट निर्वाचित संघीय सांसद समेत रहेका ज्वालाले राप्ती राजमार्गको स्तरोन्नतिका लागि संघीय सरकारले विशेष वजेटको व्यवस्था गर्ने बताउनुभयो ।

२०७८ असार ५ गतेदेखि निर्माण शुरु भएर २०८१ वैशाख १० गते निर्माण कार्य सम्पन्न भएको दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन ४ करोड ६५ लाख ७ हजार ८ सय ४३ रुपैँया लागतमा निर्माण भएको थियो ।


प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार २१:३४

प्रतिक्रिया दिनुहोस्