साउन २५, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिकाको कपुरकोट आधारभूत स्वास्थ्य अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु हुने भएको छ ।
स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने कपुरकोट गाउँपालिकाको कपुरकोट आधारभूत अस्पताल जिल्लामै पहिलो अस्पताल बनेको हो ।
हिजो बिहीबार एक कार्यक्रमका बीच कपुरकोट आधारभूत अस्पताल र नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड बीच आगामी भदौ १ गतेदेखि कपुरकोट आधारभूत अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु गर्ने सम्झौता भएको हो ।
स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने सम्झौता भए सँगै अब नागरिकहरुको स्वाथ्यमा हुने आर्थिक जोखिम न्यूनिकरण भइ सरल, सहज र सर्बसुलभ तवरले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो ।
उँहाका अनुसार कपुरकोटवासी मात्रै नभएर पालिका बाहिरका नागरिकहरुले समेत स्वास्थ्य बीमा सेवा लिन सक्ने बताउनुभयो । बीमा गर्ने व्यक्तिहरुले स्वास्थ्य बीमा कार्ड लिएर आएको खण्डमा एक लाख बराबरको निशुल्क औषधिउपचार पाउने उँहाको भनाइ छ । प्रत्येक पालिकाको प्रत्येक वडामा एक जना बीमा अभिकर्ता हुने प्रावधान रहेकोले अब गुणस्तरीय स्वास्थ्य सेवा अगाडि बढ्ने उँहाले जानकारी दिनुभयो ।

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत देशका विभिन्न स्वास्थ्य चौकिहरुलाई सूचिकरण गर्ने कार्यक्रम रहेको र सोही कार्यक्रम अन्तर्गत कपुरकोट आधारभूत अस्पताल जिल्लामै पहिलोपटक सूचिकृत भएको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।
उँहाका अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत अति अशक्त ‘क’ वर्गका अपाङ्ग व्यक्तिहरुका लागि र ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई यो सेवा निशुल्क हुने उँहाले जानकारी दिनुभयो । यस्तै ‘ख’ वर्गका अपाङ्ग व्यक्तिहरुलाई ५० प्रतिशत शुल्क छुट हुने साथैं महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि ५० प्रतिशत शुल्क छुट हुने उँहाको भनाइ छ ।
त्यस बाहेक अन्य व्यक्तिहरुले वार्षिक रुपमा एक परिवार बराबर ५ जनाको ३५ सयको बिमा बनाएको खण्डमा ५ जना मध्य जोकोही बिरामी भए पनि उँनिहरुले एक लाख सम्मको उपचार खर्च पाउने प्रावधान रहेको उँहाले जानकारी दिनुभयो ।
कपुरकोट आधारभूत अस्पतालमा भिडियो एक्सरे, एक्सरे, आधुनिक ल्याब सुविधा, फार्मेसी सेवा र घुम्ती विशेषज्ञ सेवासमेत उपलब्ध हुने र यसका लागि आवश्यक जनशक्तिका साथै स्रोत साधनको व्यवस्थापन प्रक्रिया समेत अगाडि बढेको उँहाको भनाइ छ ।
प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार ०६:५८

