कात्तिक ९,सल्यान ।
सल्यानको दमाचौरमा जिल्ला स्तरीय खुला कराँते प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन शुक्रवार छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले गर्नुभयो ।
पञ्चेबाजा, सोरठी, लहरे, मयुर नाचसंगैको र्याली सहित छत्रेश्वरी १ दमाचौरमा प्रतियोगिताको भव्य रुपमा उद्घाटन गरिएको हो ।
नेपाल सितोरियो कराँते सङ्घ सल्यानको आयोजना र प्रतिभाशाली युवा क्लब छत्रेश्वरी १ सल्यानको सह आयोजनामा खुला कराँते प्रतियोगिता सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले खेलकुदको महत्वबारे चर्चा गर्दै खेलाडीमा समर्पण र मेहनत आवश्यक पर्ने बताउदै खेल क्षेत्रलाई माथि उठाउन आफूहरुले सक्दो प्रयास गरेको बताउनुभयो ।

कराँते प्रतियोगितामा ९ टिमले भाग लिएका छन् ।सल्यानका ८ र रोल्पाबाट एक टिमले प्रतियोगितामा भाग लिएको आयोजकले जनाएको छ । कराते तर्फ २० देखि ६५ केजी समूहसम्म महिला तथा पुरुषको एकल काता सञ्चालन हुने जानकारी दिँदै नेपाल सितोरियो कराँते सङ्घ सल्यानका अध्यक्ष तथा कराँतेका अन्तर्राष्ट्रिय रेफ्री चित्र बहादुर रानाले २२ वटा स्वर्ण, २२ वटा रजत र ४४ कांस्य पदकको लागि प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । कराँते प्रतियोगितामा ७५ पुरुष र ६५ जना महिला प्रतिस्पर्धी खेलाडीहरूको सहभागिता रहेको उहाँको भनाई छ ।
कार्यक्रममा कराँते प्रतियोगिता सँगै खुला नृत्य प्रतियोगिता पनि सञ्चालन हुने र मौलिक कला संस्कृति र स्थानिय लोक संस्कृति प्रदर्शन गरेका विभिन्न समूहहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार २०:४०

