सल्यान– सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ मा वडा अध्यक्षको व्यक्तिगत लगानिमा २३ पटकसम्म तौल लिएका बालबालिकालाई पुरस्कृत र सम्मान गरिएको छ ।
स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम संचालन गर्दै छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ मा जन्मेदेखि दुई वर्ष पुग्दासम्म नियमित २३ पटकसम्म तौल लिएका तीन जना बालबालिकालाई मंगलबार विशेष सम्मान गरिएको हो । ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ अन्तर्गत छानिएका ती बालबालिकालाई वडाध्यक्ष टिकाराम बुढाको आफ्नै व्यक्तिगत लगानीमा एक–एक क्यारेट अण्डा र प्रशंसापत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो ।
प्रतियोगितामा छानिएका बालबालिकाहरूमा लान्तीका मानस्वी रावत, गोदेका सन्दीप बोहरा, सोही ठाउँका डेनिस वली रहेका छन् । ती बालबालिकाहरूले जन्मपश्चात् दुई वर्ष पूरा नहुँदासम्म हरेक पटकको निर्धारित समयमा तौल लिएका थिए ।उनीहरूको तौल सधैं उमेर अनुसार सामान्य रहेको र उनीहरूलाई स्वास्थ्य संस्था मार्फत वितरण गरिने ‘बालभिटा’ औषधि पनि पूरा मात्रामा खुवाइएकोले छनौट गरिएको छायाक्षेत्र स्वास्थ्य चौकी इन्चार्ज प्रतिभा बुढाथोकीले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले यस्तो कार्यक्रमले अभिभावकहरूलाई बालस्वास्थ्यप्रति थप सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो । नियमित रुपमा बच्चाको तौल लिने आमाहरुलाइ धन्यवाद दिँदै उँहाले सबैलाई केही समस्या देखिए स्वास्थ्यकर्मीसँग सरसल्लाह लिएर उपचारको लागि अघि बढ्न आग्रह गर्नुभयो ।
पोषणमैत्री स्वास्थ्य संस्था तथा वडा घोषणामा समेत टेवा पुर्याउने उदेश्य सहित यस किसिमको प्रतिस्पर्धा गराइएको वडा कार्यालयले जनाएको छ । स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका वडा अध्यक्ष टिकाराम बुढाले आगामी बर्ष यो कार्यक्रमलाइ संस्थागत रुपमै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोषण सुधारको लागि समुदायमै सकारात्मक सन्देश दिन र वडा तहबाटै उदाहरणीय पहल गर्न यो कार्यक्रम सञ्चालन गरिएको उँहाको भनाइ छ ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले नियमित तौल लिनुको महत्वबारे जानकारी गराउदै जन्मेदेखि दुई वर्षभित्रको समयमा बालबालिकाको शारीरिक र मानसिक विकासका हिसाबले अत्यन्त संवेदनशील हुने भन्दै नियमित तौलबाट बालबालिकाको वृद्धिविकास दरको अनुगमन र कुपोषणको पहिचान समयमै गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य सागर नेपाली, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु, स्वास्थ्यकर्मी एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: १ श्रावण २०८२, बुधबार ०७:५१

