असोज १९,सल्यान।
सल्यानको बागचौर नगरपालिका २ थारमारेमा बागचौर प्रिमियर लिग बिपिएल सिजन-२ क्रिकेट प्रतियोगिता २०८२ हुने भएको छ ।
युवा विद्यार्थी समाज बागचौर सल्यानको आयोजनामा सल्यानको थारमारेमा रहेको जनकल्यान नमूना माविको खेल मैदानमा उक्त क्रिकेट प्रतियोगिता हुने भएको हो ।
गत वर्ष बागचौर नगरपालिका भित्र क्रिकेट खेलाडीहरुको सम्भाव्यता अध्ययन सँगै क्रिकेट खेलको विकास र विस्तारसँगै खेलाडीहरुलाई प्रोत्साहन गर्ने र क्रिकेट खेललाई सबै सामु चिनाउने उद्धेश्यले बागचौर प्रिमियर लिग बिपिएलको पहिलो सिजन भएको थियो ।
बागचौर प्रिमियर लिग बिपिएल सिजन-२ मा भने बागचाैर नगरपालिका भित्रका खेलाडीहरुको प्रतिभा पहिचान गर्दै नगर भित्रका खेलाडीलाई रास्ट्रिय रुपमा चिनाउदै एनपीएल र रास्ट्रिय स्तरका खेल खेल्न सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य सहित आगामी असोज २६ गतेदेखि असोज २९ गतेसम्म क्रिकेट प्रतियोगिता संचालन हुन लागेको बागचौर प्रिमियर लिगका संयोजक कमल खड्काले जानकारी दिनुभयो ।
क्रिकेट प्रतियोगितामा टेनिस बलले १५ ओभरको खेल खेलाइने र खेलमा एक्स्ट्रा खेलाडी सहित सम्बन्धित वडाको १५ जना खेलाडीहरु समावेश हुन पाइने उहाँले जानकारी दिनुभयो। उक्त क्रिकेट प्रतियोगितामा सहभागी भएर प्रथम हुने टिमलाई नगद ५१ हजार रुपैयाँ र द्वितीय हुने टिमलाई ३१ हजार रुपैयाँको पुरस्कार राखिएको उहाँले जानकारी दिनुभयो ।
टिम दर्ताको समय असोज २५ गते बेलुका ५ बजेसम्म कायम गरिएको र बागचौर नगरपालिका अन्तर्गत सम्बन्धित वडाको टिम दर्ता शुल्क ६ हजार रुपैयाँ राखिएको आयोजकले जनाएको छ ।
बिपिएलको पहिलो सिजनमा बागचाैर नगरपालिकाको वडा नम्बर ९ बिजेता बनेको थियो भने उपबिजेता वडा नम्बर १२ बनेको थियो ।
प्रकाशित मिति: १९ आश्विन २०८२, आईतवार ०७:३१