Logo

६ जेष्ठ २०८१, आईतवार

‘विद्यालयमा गुरुले अगाडि पढाउदै गर्दा, म पछाडि चित्र कोर्ने गर्दथे’


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


साउन ११, सल्यान ।
व्यक्तिमा लगनशीलता, जाँगर, मेहनत र धैर्य भयो भने विना कुनै मूर्तिकलाको सीप नलिएरै पनि मासिक लाखभन्दा बढि कमाइ गर्न सकिन्छ भन्ने उदाहरण सल्यानका एक युवाले देखाउनुभएको छ । बागचौर नगरपालिका वडा नम्बर ९ घर भई हाल बागचौर नगरपालिका वडा नम्बर २ बागचौरमा बसोबास गरिरहनुभएका टोपेन्द्र डाँगीले मूर्तिकारको बेग्लै पहिचान बनाउनुभएको छ ।

उँहाको जाँगर, मेहनत र इमानदारीताले अहिले उँहालाई मूर्ति कुँद्न, चित्र कोर्न, आर्ट सम्बन्धी काम गर्ने भ्याइनभ्याइ त छ नै, उँहा अहिले मासिक लाखभन्दा बढी कमाइ गर्न सफल हुनुभएको छ । सानैदेखि चित्र कोर्नमा सौखिन डाँगी १० वर्षदेखि व्यावसायिक रूपमा चित्र कोर्न र मूर्ति कुद्नमा व्यस्त हुनुहुन्छ ।

मूर्ति र चित्र कोरेको कलाबाटै उँहा र उँहाको परिवार धानिएको छ । ‘मैले व्यावसायिक रूपमा चित्र कोर्न र मूर्ति कुँद्न थालेको १० वर्ष भयो, जति समय वित्दै गयो त्यति ब्यस्थता बढ्दै गएको छ, डाँगीले भन्नुभयो ।’ सानो छँदा सोखका लागि चित्र कोर्ने र ढुंगा ल्याएर मूर्ति कुँदे पनि सानोमा थालेको रहर अहिले पेसा बनेको उँहाको भनाई छ ।

‘मैले कहिल्यै पनि मेरो पेसा मूर्ति कुँद्ने र चित्र कोर्ने होला भनेर सोचेकै थिएन, तर आज यहीँ पेसाले नै आफ्नो र परिवारको जीवन धानिरहेको छु, उँहाले भन्नुभयो’। उँहाको कला अहिले विभिन्न मन्दिर, रिसोर्ट, होटल, रेस्टुरेन्ट, पार्क, गुफा तथा विभिन्न विद्यालयमा देख्न सकिन्छ ।

प्रस्तुत छ, मूर्तिकार टोपेन्द्र डाँगीसँग खबर ग्यालरीका सम्पादक बामदेव के.सी.ले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंको विचारमा मूर्तिकला के हो ?
मूर्तिकला मेरो विचारमा एउटा सुन्दर सिर्जना हो । यो एउटा कुनै पनि विषयबस्तु अथवा कुनै पनि चित्रणलाई जस्ताको तस्तै देखाएर कुनै पनि इतिहासको झल्कोलाई जस्ताको तस्तै हेर्नको निम्ती तयार गरिने सिर्जना हो । मैले यसरी नै मूर्तिकला पेशालाई बुझको छु ।

मूर्तिकलामा तपाईंलाई कहिले देखी रुचि जाग्यो र कसरी व्यवसायीक मूर्तिकार बन्न प्रेरित हुनुभयो ? आफनो जीवन संघर्ष बारे केही जानकारी दिनुहोस् न ?
म बाल्यकाल देखि नै यस्ता विभिन्न सिर्जनात्मक क्रियाकलापमा एकदमै रुचि राख्ने र मेरो बानीलाई तेहितिर मोड्ने गर्थे । “विद्यालयमा पठनपाठन हुने क्रममा गुरुले अगाडि पढाउदै गर्दा म पछाडि चित्र कोर्ने गर्दथे ।” मैले यस्ता सिर्जनात्मक क्रियाकलाहरु हुन् या अरु चित्र कोर्ने कुराहरु हुन, यस्ता कुरामा रुचि राख्ने मेरो बाल्यकाल देखिको स्वभाव भयो । अहिले तेही स्वभावलाई व्यवसायीक रुपमा लिने अबसर प्राप्त भयो । सायद यसमै सफलता मिलेको छ । म निर्धक्क भएर यसमै लागेको छु ।

मूर्तिकला आफैंमा सजिलो कार्य होइन । यसमा निकै मेहनत पनि लाग्ने गर्दछ । कत्तिको मेहेनत गरिरहनुभएको छ यो क्षेत्रमा ?
धेरै मेहेनत गर्छु मैले यसमा । आफुले काम गर्दैगर्दा कतिपय धेरै अफट्याराहरु पनि आउछन् । मूर्ती बनाउदा मानसिक रुपमा धेरै समय खर्चिनुपर्ने अवस्था हुन्छ । अहिले सम्म आफुले गरेको काम प्रति म सन्तुष्ट छु । कुनै पनि काम गर्न सजिलो त छैन अफट्यारो छ । तर तहि अफट्यारो सँग जुध्न सकियो भने त्यो अन्तयमा सुन्दर सिर्जना बन्छ । हामी अधिकाशंले कुनै काम गर्दाखेरि यो काम हुदैन कि, बन्दैन कि भनेर बिचैमा छोड्ने र हतोत्साहित हुने गछौं । त्यसले चाहिँ प्रतिफल प्राप्त हुदैन । त्यसकारण यो सजिलो कार्य नभएको भएपनि यसलाई सजिलो रुपमा बनाउनको निम्ती आफुले कडा मेहेनत गर्नुपर्छ । आफनो सीप देखि पछाडि पर्नुहुदैन र यो काम गर्न सकिन्छ ।

सल्यानको मूर्तिकलालाई माथि उठाउन तपाईले खेलेको भूमिका अतुलनिय छ । प्राय सल्यान लगायत विभिन्न स्थानमा तपाईंले बनाएका मुर्तिहरु देखिन्छन् । मूर्ति बनाउनकै लागि अहिलेसम्म कति वटा जिल्लामा पुग्नुभएको छ ?
अहिले मैले मूर्ति बनाउनका लागी हाम्रो सल्यान, रोल्पा, रुकुम, दाङ, यिनै जिल्लामा काम गर्ने गरेको छु । यसका साथैं स्याङ्जा जिल्लामा पनि मेरो माग भएको छ । आफनो क्षमता, दक्षताले र आफनो समय अनुकुलताले भ्याएसम्म भोलिका दिनमा धेरै जिल्लाहरुमा काम गर्न सकिएला । अहिले यिनै जिल्लामा काम गर्न भ्याएको छु ।

आफनो काम प्रति सन्तुष्ट हुनुहुन्छ ?
एकदम सन्तुष्ट छु । अझै मेहेनत र दुःख धेरै गर्नुपर्नेछ । यो सीपका कामहरु जति गरेपनि मान्छेलाई पुरा भएको महशुस हुदोरहेनछ । त्यसकारण यो पेसा प्रति सन्तुष्ट छु र अझै सन्तुष्ट हुनको निम्ति अथक मेहेनतको प्रयासमा जुटेको छु ।

अहिले सम्म कति मूर्ती बनाउनुभएको छ ? प्राय कस्ता मूर्तिहरु बनाउन रुचाउनुहुन्छ ?
ठ्याक्कै मैले यकिन त गरेको छैन । धेरै मूर्तिहरु बनाइयो । अब त्यसको डिटेल र खोजिकार्यमा म आफै पनि लागेको छु । काम गर्दै जादाखेरि त्यसको सबै डिटेल राख्न सकिन ।

एउटा मूर्ति बनाउन कति समय लाग्ने गर्दछ तपाईलाई ?
मूर्तीको साइज हेरेर समय लाग्ने गर्दछ । सानो मूर्ति भयो भने छोटो समयमा पनि भ्याइन्छ । ठूलो मूर्ति भयो भने धैरै समय पनि लाग्ने गर्दछ । यसको ठ्याक्कै यति समय लाग्छ भन्ने चाँही हुदैन ।

कोराना कहरमा धेरै व्यवसायीहरुले आफनो काममा समस्याहरु भोग्नुपर्यो । कोरोना कहरमा यहाँको व्यवसाय कस्तो रह्यो ?
मेरो व्यवसाय निरन्तर चल्यो । मैले आफनो काम गर्दा धेरै जनशक्ति नचाहिने, धेरै भिडभाड पनि नहुने भएकाले त्यस्तो समस्या भोग्नु परेन । तेस्तो परिस्थितिमा सबैले समस्याहरु भोग्नुपर्यो होला, सबैले भोग्यौं पनि । तर मैले मेरो व्यवसाय निरन्तर गरिराखे, काम गरिराखे ।

कहिलेकाहीँ मूर्ति बनाउनकै लागि गुफा, घनघोर जंगलमा, दुर्गम क्षेत्रमा, निकै अफट्यारा ठाउँहरुमा पनि जानुपर्छ होला । कस्तो हुन्छ तेस्ता ठाँउहरुमा मूर्ति बनाउन ?
एकदमै आनन्द महसुस हुन्छ । “एउटा पत्थरलाई फोरेर पिपल उर्मिन्छ भने जस्तै कुनैपनि कठिन काम गर्न पाइयो भने त्यो चाहिँ अलि विशेष खालको बन्छ मान्छेलाई हेर्न लायक बन्छ, आन्नदलायक बन्छ”। अफट्यारो ठाँउको अनुभुति सबैले गर्न सकिदैन । त्यसोभएको हुनाले धेरै अफट्यारा ठाँउहरुमा जादाखेरि केही अफट्यारा कठिनाइहरु आउछन् तर अन्तयमा मूर्ती निर्माण भएपछि त्यो सबैभन्दा राम्रो देखिन्छ ।

विभिन्न निकायहरुबाट युवाहरुलाई विभिन्न समयमा मूर्तिकला सम्बन्धी सीपमुलक तालिम तथा प्रशिक्षण दिइन्छ तर तालिम लिएका अधिकांश अहिले पनि रोजगारविहीन छन् । करोडौ रुपैयाँ बालुवामा पानि जस्तै गरी खर्च भइरहदा निकै कम मात्रामा स्वरोजगार र आत्मनिर्भर भएका छन् । यस्तो किन भएको होला ?
मलाई के लाग्छ भने हामीले अलि वास्तविक विषयबस्तु, वास्तविक कला, हाम्रो आवस्यकता माग माथि केन्द्रित नभएको अवस्था छ यो विषयमा । हामि जति खर्च गछौं त्यसको उपलब्धि के ? त्यसको प्रयोग कसरी गर्ने ? त्यसको बजार के हो ? त्यो विषयमा हामीहरु गहिरो अध्ययन गर्दैनौं ।

कतिपय हामीसंगै अध्ययन गर्नुभएको मान्छेहरुपनि राम्रो हनुहुन्छ । कलात्मक हुनुहुन्छ तर पनि उँहाको सिर्जना बिकेको छैन । यसमा के छ भने हामी सबैको समन्वय, सम्बन्धको कुरा पनि रहन्छ । हामीले काम गर्दैगर्दा खेरि कामको अत्यन्तै माग हुदापनि हामीले आफनो सिर्जनालाई व्यवसायी तर्फ लिन सकेका छैनौं । कतिपयलाई के पनि विश्वास छैन भने यो कामबाट हामी उपलब्धि गर्न सक्दैनौं । यो पेशा भन्दा त हामी अर्को पेशाबाट उपलब्धि गर्न सक्छौं भन्ने मान्छेहरुलाई परेको छ । नयाँ काम गर्दा केही समय घाटा पनि त हुन्छ नि । सबै सहज त हुदैन तर अन्तयमा कुनैपनि व्यवसायमा टिक्न सकियो, र मन लगाएर काम गर्न सकियो भने असफलता भन्ने छदैछैन ।

हामीले धेरै ठाँउमा देखेका छौं, कबाड उठाउने मान्छेहरुले पनि महिनाको ५औं लाख १०औं लाख आमदानी गरेको इतिहास देखिन्छ । कला गला भएका मान्छेलाई हजुरहरु जस्तो मान्छेहरुले प्रोत्साहन गर्नुभएको छ । त्यसैगरि स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकारले पनि यतातिर ध्यान दिन सक्यो भने र यस्ता कलाहरुलाई प्रयोग गर्न सक्यो भने म जस्ता धेरैले राम्रो काम पाउँछौं ।

तपाईंले अहिले मूर्तिकला संगै विभिन्न आर्ट सम्बन्धि कामहरु पनि गरिरहनुभएको छ । अहिले तपाईंले कति जनालाई रोजगारी दिनुभएको छ ? अबको लक्ष्य के छ ?
मैले अहिले ४ जना युवाहरुलाई रोजगारी दिएको छु । मेरो अब अन्तिम लक्ष्य भनेको आफुले सिकेको सीप अरुलाई पनि सिकाएर आत्मनिर्भर बनाउनु हो । समग्र देशकै काम गर्ने हो, हामी सल्यानमा मात्रै केन्द्रित हुने कुरा पनि भएन । त्यसो हुनाले यो पेशामा हामी सबैले सीप सिकिसकेपछि म अब यो काम गरेर खान सक्छु भन्ने मनमा अठोट चाहिँ हुनुपर्छ । मेरो अन्तिम लक्ष्य भनेको मूर्तिकला क्षेत्रबाट सल्यान जिल्लामा केही मूर्तिकला सम्बन्धि सिर्जना भएका त्यस्ता कलात्मक मान्छेहरुसंग, विशेष समन्वय गरेर आफुले जानेको सीप प्रदान गर्ने मेरो प्रमुख लक्ष्य रहेको छ । त्यसको निम्ती एक दुई वर्षमै त्यो वातावरण तयार गरेर सल्यानलाई मूर्तिकला क्षेत्रबाट चिनाउने र थप माथि उठाउने तयारी गर्दैैछु ।

अन्त्यमा के भन्नुहुन्छ ?
हामी जुनसुकै क्षेत्रमा पनि सीप भएका युवाहरु छौं । हामीले कामको खोजी गर्नुभन्दा पहिला आफनो सीपलाई पूर्णता दिने र आफनो सीपलाई अलिकति निखारपन बनाउन तिर ध्यान दिन जरुरी छ । कुनै पनि सीप सिक्न टाइम पासको निम्ती नभएर मैले यो सीपबाट केही गर्न सक्छु भन्ने मनमा अठोट लिन आवस्यक छ । त्यसको लागि सीपमुलक सम्पूर्ण साथिहरु, सीप भएका मान्छेहरु यो क्षेत्रतिर केन्द्रित हुन आवस्यक ठान्छु ।


प्रकाशित मिति: ११ श्रावण २०७९, बुधबार १८:२१

प्रतिक्रिया दिनुहोस्