Logo

२४ बैशाख २०८१, सोमबार

क्रिकेट एक अनिश्चितताको खेल ! (मनोभाव)


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


मेरो बाल्यकाल सल्यानको सदरमुकाम खलंगामै बितेको हो । बाल्यकाल पनि क्रिकेट मै बित्यो । क्रिकेट भनेपछि हुरुक्कै हुने म २०६५ सालमा जिल्ला क्रिकेटको सिलेक्सनमा परेपछि राप्ती अञ्चल स्तरीय खेल खेल्न दाङ गएको याद ताजै छ । उक्त अञ्चल स्तरीय खेल खेलिसके प्रस्चात बागचाैरका खेत तथा बारीमा फल्यागका ब्याट गराएर, दाउराका ब्याट गराएर, मोचाका बल गराएर पछाडिका भाईहरुलाई करिव २ बर्ष क्रिकेट खेल्न हाैसला प्रदान गरि क्रिकेट सिकाएको याद पनि ताजै छ ।

समय फेरिदै गयो । पछि पढाइले गर्दा क्रिकेटबाट टाढा हुनुपर्ने अबस्था भयो । पछि SLC सकिए सँगै उच्च शिक्षाका लागि काठमाडौं जानुपर्ने भयो । उता क्रिकेट खेलिएन तर क्रिकेट भने मज्जाले हेरियो । त्यो समय टि-२० बिश्वकप २०१४ का नेपालका सबै खेलहरु हजारौंको संख्यामा उपस्थित भएका दर्शकहरु सँगै बसेर बसन्तपुर दरबार क्षेत्रमा प्रोजेक्टरबाटै हेरियो । तेतिबेला त्रिवि क्रिकेट मैदानमा भएका क्रिकेट खेल पनि खुब हेरियो । बिस्तारै क्रिकेट खेल सहरबाट गाउँसम्मै झर्‍यो । जिल्ला देखि विभिन्न पालिका अनि गाउँघरका कुनाकन्धरा सम्मै क्रिकेट पुग्यो ।

जब नेपालले पहिलोपटक एसिया कप क्रिकेटमा भाग लग्यो र भारत र पाकिस्तान जस्ता ठूला रास्ट्र सँग खेल्यो त्यसयता नेपालमा क्रिकेटको क्रेज बढे सँगै यसको ब्यापक्ता पनि बढ्यो । अब त झन १० वर्षपछि नेपालले टि-२० बिश्वकप २०२४ मा खेल्ने समेत पक्का भयो । अब झनै यसको ब्यापक्ता अझ बढ्दै गयो । अब क्रिकेट विभिन्न जिल्लाका विभिन्न कुनाकन्धरा सम्म पुग्दै गयो र एउटा भिन्नै लहर चल्यो या भनाै सल्यानको बागचाैर नगरपालिका सम्मै यसको क्रेज चल्यो । ” बागचाैरको केही कर्मचारी टोली यसरी खटियो कि बागचाैरमा क्रिकेटको नयाँ अध्याय नै सुरु भयो ।”

पहिलो अध्याय :

त्रिवेणी गाउँपालिकाको आोजनामा २०८० साल पौष १४ र १५ गते बिदाको दिन पारेर त्रिवेणी ६ स्थित दहबाङ खेल मैदानमा बागचाैर नगरपालिका र त्रिवेणी गाउँपालिका बिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भयो । अन्तर स्थानीय तह समन्वय र सहकार्य बिस्तारका लागि बागचौर नगरपालिका सल्यान र त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका कर्मचारी बिच त्रिकोणात्मक मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिता भयो । उक्त मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टिम त्रिवेणीले जित्यो। समग्रमा २-१ ले त्रिवेणी विजयी भयो । जसमा टिम बागचाैर १ म्याच मात्र जित्दै पराजित भएर घर फर्कियो ।

दोस्रो अध्याय :

छत्रेश्वरी गाउँपालिकाका कर्मचारीहरु, सल्यानको खलंगामा कार्यरत संघका कर्मचारी र स्थानीय तहमा कार्यरत कर्मचारीहरु र बागचाैर नगरपालिकाका कर्मचारीहरु बिच बिदाको दिन पारेर लुहापिङ खलंगामा विभिन्न समयमा विभिन्न क्रिकेट खेलहरु भए । जसमा प्राय बागचाैर नगरपालिकाको कर्मचारी टिम विजयी भयो । अब झनै बागचाैरमा क्रिकेटको ब्यापक्ता र क्रेज अझ बढ्दै गयो ।

तेस्रो अध्याय :

शारदा मेयर टि-२० क्रिकेट कप हुने घोषणा भयो । २०८० साल चैत २८ गते देखि २०८१ वैशाख ३ गते सम्म शारदा मेयर टि-२० क्रिकेट कप हुने भयो । उक्त क्रिकेट कप हुने घोषणा भए सँगै क्रिकेटमा बागचाैर नगरपालिकाको सकृयता झन ह्वात्तै बढ्यो । बागचाैर नगरपालिकाले खेलाडी छनाैट गर्ने सम्बन्धि सूचना जारी गर्‍यो । नगरपालिकाले जारी गरेको सूचना प्रस्चात थारमारे, बागचाैर, कोटमाैला, कोटबारा लगायतका ठाउँमा क्रिकेटको सकृयता बढ्यो । शारदा मेयर टि-२० क्रिकेट कपका लागि थारमारेमा छनाैंट गर्दा ४० जना बढी खेलाडीहरुको उपस्थिति भयो । playing11 सँगै वैकल्पिक खेलाडीहरु र ब्यवस्थापक टिम समेत बन्यो । टाेलि खलंगा तर्फ प्रस्थान गर्‍यो । शारदा मेयर टि-२० क्रिकेट अन्तर्गत कपुरकोट गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, कालिमाटी गाउँपालिकालाई हराउँदै टिम बागचाैर ग्रुप A को बिजेता बन्दै फाइनलमा प्रवेश गर्‍यो । उता सिद्ध कुमाख गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिकालाई हराउँदै टिम शारदा ग्रुप B को बिजेता बन्दै फाइनल प्रवेश गर्‍यो ।

अब फाइनल खेल बागचाैर नगरपालिका र शारदा नगरपालिका बिच हुने तय भयो । टस जितेर पहिले ब्याटिङ गरेको टिम बागचाैर निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै ११८ रन मात्र जोड्न सक्यो । ११९ रनको लक्ष्य पाएको टिम शारदाले राम्रो सुरुवात गर्‍यो । कुनैबेला टिम शारदाले १०० रन जोडिसक्दा मात्र ६ विकेट मात्र गुमाएको अबस्था थियो । टिम शारदाले करिब ६ ओभर खेल्न बाकी नै थियो । खेल अझै पनि टिम शारदाको पक्षमा थियो । तर टिम बागचाैरका बलरहरु राजन वली, हेमराज बस्नेत र निर्मल डाँगीले खेलमा कम्ब्याक गरेपछि र मैदानमा भएका अन्य खेलाडीहरुले फिल्डिङ टाइड गरेपछि टिम शारदाको विकेटहरु भकाभक झर्न थाल्यो र फाइनल म्याचको टर्निक पोइन्ट नै मोडियो । टिम शारदा पूरा १५ ओभर नखेल्दै सबै विकेट गुमाउन पुग्यो र टिम बागचाैर १५ रनले विजयी भयो ।

यसरी पहिले देखि क्रिकेटको विरासत बोकेको शारदा नगरपालिकाले यो पटक उपविजेतामा चित्त बुझायो र टिम बागचाैर विजयी हुदै घर फर्कियो । यसरी क्रिकेट क्षेत्रमा टिम बागचाैर नगरपालिकाले विजयी सुरुवात गर्दै पहिलोपटक खलंगाको लुहापिङमा एउटा इतिहास रच्यो ।

हो, त्यसैले त भनिन्छ क्रिकेट एक अनिश्चितताको खेल !

लेखक बामदेव के.सी. बागचौर नगरपालिकामा कार्यरत सँगै टिम बागचौरका कप्तान समेत हुनुहुन्छ ।


प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार ०८:४९

प्रतिक्रिया दिनुहोस्