Logo

६ जेष्ठ २०८१, आईतवार

सल्यानको रानीपोखरी मेला सम्पन्न


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


सल्यान १०, असोज ।
सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो सल्यानको बागचौर नगरपालिका वडा नम्बर ८ कोटमौंलामा पर्ने रानीपोखरी । सल्यान जिल्लामा लाग्ने प्रमुख मेलाहरु मध्य रानीपोखरी मेला पनि एक हो ।

रानीपोखरी नजिकै परापुर्वकालमा कोटमौंलामा राजाको बसोबास थियो । पुराना किम्बदन्ती अनुसार र स्थानियहरुको भनाइ अनुसार रानीपोखरीमा गएर दिनहुँ रानीले स्नान गर्ने गर्दथिन् । एकदिन स्नान गर्ने क्रममा रानीको यसै पोखरीमा डुबेर मृत्यु भए प्रश्चात तत्कालीन राजाले रानीको सम्झनामा यो ठाउँमा मेला लगाउने परम्परा बसालेका हुन् ।

हरियो चौर, अग्लाहोचा थुम्का, वरिपरि जंगल, गर्मीयाममा पाइने लालिगुरास अनि काफल । जाडोयाममा यो क्षेत्रबाट देखिने रुकुमको सिस्ने हिमाल, सल्यानको कुमाख लेक, बिजयधुरी, ठामरकोट, लसुने लेक लगायत जिल्लाका विभिन्न ठाउँको सुन्दर दृश्याअवोलकन गर्ने सकिने यो ठाउँका प्रमुख विशेषता हुन् ।

सल्यान लगायत छिमेकी जिल्ला दाङ, रुकुम, रोल्पाबाट पनि मेला हेर्नेको घुइँचो लाग्ने यो ठाउँमा दशै सुरु हुन पूर्व घटस्थापनाको एक दिन अगाडि यहाँ मेला लाग्ने गर्दथियो । तर हिजो आइतबार परेको अविरल बर्षाले गर्दा रानीपोखरी मेला लाग्न नसकेपछि, मेला आज लगाएको रानीपोखरी मेला व्यवस्थापन समितीले जनाएको छ ।

यस्तै रानीपोखरी मेलामा खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता अन्तर्गत सल्यानको छत्रेश्वरी गाँउपालिका वडा नम्बर १ को टिमले प्रथम स्थान हात पार्दै ७५ हजार पुरस्कार जित्न सफल भएको छ । यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ९ को टिमले दोस्रो स्थान हात पार्दै ४५ हजार पुरस्कार जित्न सफल भएको छ भने सल्यानको बागचौर नगरपालिका वडा नम्बर ३ को टिमले तेस्रो स्थान हात पार्दै ३० हजार पुरस्कार जित्न सफल भएको छ ।

मेलामा भलिवलका बिजेता खेलाडीहरुलाई बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम, बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अन्नत कुमार गौतम, बागचौर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुशील चन्दले प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभएको थियो ।

यस्तै रानीपोखरी मेलामा सांस्कृतिक कार्यक्रम पनि गरिएको छ । मेलामा सल्यानी गायक रमेश डाँगी, क्रिश क्षेत्री लगायतले प्रस्तुती दिनुभएको थियो ।


प्रकाशित मिति: १० आश्विन २०७९, सोमबार २२:१९

प्रतिक्रिया दिनुहोस्