Logo

६ जेष्ठ २०८१, आईतवार

विश्वविख्यात खेलाडी पेलेको निधन : फुटबल यात्रामा खाली खुट्टादेखि ‘सुनको जुत्ता’ सम्म


खबर ग्यालरी


काठमाडौँ– विश्व फुटबलमा कहलिएको नाम हो पेले । उनी आजबाट हामीसँग रहेनन् । क्यान्सरबाट पीडित उनको ८२ वर्षको उमेरमा निधन भएको हो । 

पेलेकाे पूरा नाम एड्सन एरान्टेन्स डो नासिमेन्टो हो । फुटबलर पेले सन् १९४० अक्टोबर २३ मा ब्राजिलस्थित एड्सन गाउँको गरिब परिवारमा जन्मिएका थिए । विश्वकपबाट उनी विश्व फुटबलमा चर्चित बन्दै गए र कालान्तरमा फुटबलका जादूगर कहलिए । यो उनको मुख्य पहिचान हो । 

जीवनमा विभिन्न संघर्षका बीच आफ्नो अद्भूत खेल कौशलले फुटबल संसारमा प्रख्यात भएका उनको महाप्रस्थान भएको छ । उनको मृत्युले सिंगो फुटबल जगत शोकम छ ।

सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने, गोल गर्ने, ह्याट्रिक गर्ने र फाइनल खेलेर बनाएको रेकर्ड ६४ वर्षसम्म पनि उनकै नाममा कायम छ । ब्राजिलमा मात्रै होइन, संसारभरमा फुटबललाई लोकप्रिय बनाउन पेलेको जीवनी जति चाखलाग्दो छ, उति नै उनको नामको पनि छ ।

पेले भन्नेबित्तिकै फुटबलको राजाको रूपमा चिन्छ सिंगो विश्वले । १५ वर्षको उमेरमा उनी ब्राजिलको चर्चित क्लब सान्टोसमा अनुबन्ध भएको ‘द सन्’ मा उनको जीवनसम्बन्धी कथामा उल्लेख छ । त्यतिबेला उनको नाम पेले भइसकेको थियो । उनको नाम ‘३० सेकेन्डमा एउटा कठिन गोल’ गरेपछि पेले राखिएको थियो ।

फुटबलका जादूगरको छवि बनाएका पेलेको सफलताको बराबरी आजसम्म कुनै फुटबलरले गर्न सकेका छैनन् । ब्राजिलले ५ पटक विश्वकप जितेको छ । ५ मध्ये ३ उपाधि जिताउने नायक पेले नै थिए ।

उनकै प्रेरणामा ब्राजिलले १९५८, १९६२ र १९७० मा विश्वकपको उपाधि जितेको थियो । पेले संसारका एक मात्रै खेलाडी हुन्, जसको प्रेरणामा देशले ३ पटक विश्वकप जितेको छ ।
सन् १९५८ को विश्वकपमा पेलेलाई खेलाएपछि ब्राजिल पहिलोपटक विश्व च्याम्पियन बनेको थियो । यो विश्वकपमा आफ्नो अद्भूत खेल देखाउँदै पेलेले ६ गोल गरेका थिए । 

सन् १९६२ मा चिलीमा आयोजना भएको सातौँ संस्करणको विश्वकपमा पनि पेलेको फर्म उस्तै थियो । उनले समूह चरणमा मेक्सिकोविरूद्ध पहिलो खेलमा गोल गरे । त्योबाहेक अन्य खेलमा गोल गर्न नसकेका उनी मैदानमै पहिलो पटक रोएका थिए । खेल इतिहासमा खेलाडी मैदानका रोएको यो नै पहिलो पटक थियो । 

सानैदेखि पाएको प्रशिक्षणका कारण उनको चर्चा सडक–सडकमा हुन थालेको थियो । पेले फाटेका कपडाको बल बनाएर खाली खुट्टा फुटबल खेल्थे भने कहिले नजिकै रहेको गुड्स ट्रेन स्टेसनबाट सामान चोरेर बल किन्न पैसा जम्मा गर्थे । ९/१० वर्षको उमेरमा आफ्ना साथीहरूलाई मजाले छक्काउँथे, उनको खुट्टामा परेको बल खोस्न कसैले सक्दैनथे ।
पेलेका पिता क्लब स्तरका खेलाडी थिए भने आमा गृहिणी । आमा–बुबाले उनको नाम एडिसन राखेका थिए । ‘जुन बेला म जन्मिएको थिएँ, त्यही बेला हाम्रो सहरमा बिजुलीको बल्ब पुगेको थियो’ भनेर उनले १० वर्षअघि स्पोर्टस् अन्तर्वार्तामा भनेका थिए । 

आमा–बुबालाई बल्बको उज्यालोको प्रभाव थियो । पेलेका पिता आफैँ फुटबल खेल्थे, तर २५ वर्षमा लागेको चोटका कारण उनको फुटबल करियर क्लब स्तरभन्दा माथि उठ्न सकेपछि बुबाले आफूलाई फुटबलर बनाउन सक्दो प्रयास गरेको पेलेले अमेरिकी स्पोर्टस् म्यागजिनमा अन्तर्वार्ताकै क्रममा बताएका थिए । 
‘छोरालाई फुटबलर बनाउने सपना देखेको मेरो परिवार साओ पाओलोको बाउरु सहरमा बसाइँ सर्‍यो,’ उनले भनेका छन् । 

पेले नामको अर्थ पनि फुटबल 
नाम पेले कसरी भयो ? यो विषयमा थुप्रै दाबी गरिएका छन् । ब्राजिलको स्थानीय गेलिक भाषामा पेलेको अर्थ फुटबल हो । त्यही भएर उनको नाम पेले भएको मान्नेहरू पनि छन् । तर यो दाबी सत्य होइन, किनकि गेलिक आयरल्यान्ड आसपासको त्यो समय ब्राजिलमा पोर्चुगाली भाषा प्रचलित थियो, उक्त भाषामा पेलेको अर्थ नै लाग्दैन । तर, ब्राजिलमा पेलेको अर्थ फुटबल नै मानिन्छ । 

२२ वर्ष फुटबलमा 
सन् १९५८, १९६२, र १९७० गरी ३ पटक विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका आजसम्मकै एकमात्र खेलाडी पेले २ पटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए ।
विश्वकपमा खेलेका १४ खेलमा पेलेको खुट्टाबाट १२ गोल निस्किएको थियो । यो त्यतिबेलाको इतिहास नै थियो । आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३६३ वटा स्पर्धामा १ हजार २८१ गोल गरे । 

१ हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्टोसकै लागि मात्र खेले । उनले ब्राजिलको जर्सी लगाएर खेलेका ९१ खेलमा ७७ गोल विपक्षी राष्ट्रको गोल पोस्टमा छिराएका छन् । 
पेलेको संन्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नुपर्‍यो, सन् १९९४ को विश्वकपसम्म । त्यसयता ब्राजिलले विश्वकपले जित्न सकेको थियो ।

उनले १ दर्जनजति फिल्ममा समेत अभिनय गरेको ब्राजिलको राष्ट्रिय दैनिक पत्रिका पिउसमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा 




प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार ०९:१३

प्रतिक्रिया दिनुहोस्