Logo

६ जेष्ठ २०८१, आईतवार

सल्यानको बाफुखोलामा आलुको हरियाली : (फोटाे फिचर)


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


वैशाख ३, सल्यान ।
सल्यानको बागचाैर नगरपालिका बाफुखोलामा किसानले लगाएको आलुले यतिबेला बाफुखोलालाई हरियालीमय बनाइदिएको छ ।

भिरालो जमिन, खोलाको किनार र घर नजिकैको बारी र खेतमा लगाएको आलु खेतीले बाफुखोलालाई यतिबेला थप सुन्दर समेत बनाइदिएको छ । प्राय बाह्रै महिना प्राकृतिक सौन्दर्यताको चाङ लाग्ने बागचाैर नगरपालिकाको वडा नम्बर ११ र १२ को बाफुखोला आलुका लागि सल्यान जिल्लाकै प्रख्यात ठाउँ मानिन्छ ।

बाफुखोलाको पहिचान भनेकै यहाँ उत्पादन हुने अर्गानीक आलु हो । अहिले बाफुखोलामा प्रायका बारी र खेतमा आलुका बोट हरियो देख्न सकिन्छ । यतिबेला यहाँका किसानहरु आलु गोढ्ने र आलुकै रेखदेखमा बारीको काममै ब्यस्त देखिन्छन् ।

आलु खेति गरेरै जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ बाफुखोलाका किसानहरुले वार्षिक करौडौँ रकम भित्र्याउँदै आइरहेका छन् । आलु खेति गरेर बाफुखोलामा एक घरले न्यूनतम ५० हजारदेखि ५ लाखसम्म वार्षिक आम्दानी गर्ने गरेका छन् ।

स्थानियहरुले आलु खेतीलाई आधुनिक र व्यवसायिक रुपमा सञ्चालन गर्न चाहेपनि आलु प्रशोधन केन्द्र र पक्की सडक नहुँदा यहाँका किसानहरुले समस्या र सास्ती भोग्दै आएका छन् ।

बाफुखोलामा जेठ महिनाको अन्त्य तिरबाट आलु खन्ने गरिएता पनि आलु किन्ने ठेकेदारहरुले आलुको सहि मुल्य नदिने, समयमै पानी नपर्दा सिचाइ नहुने, समयमै खाद मल उपलब्ध नहुने जस्ता समस्याले गर्दा आलुबाट सोचेजति आमदानी हुन नसकेको यहाँका किसानहरुले बताउने गरेका छन् ।

सल्यानको बाफुखोलामा उत्पादन हुने आलु सल्यान सँगै छिमेकी जिल्ला दाङ,रुकुम, रोल्पा, सुर्खेत लगायत बाँके, बर्दिया, बुटवल, पोखरा, काठमाडौं र भारतका विभिन्न शहरहरुमा समेत पुग्ने गर्दछन् । व्यवसायीक रुपमा आलु खेती हुँदै आएको बाफुखोलाबाट वार्षिक २५ करोड भन्दा धेरैको आलु जिल्ला बाहिर निकासी हुने गर्दछ ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार ०८:५०

प्रतिक्रिया दिनुहोस्