वैशाख २, सल्यान ।
सल्यानको बागचाैर नगरपालिकाको बागचाैरमा एक व्यक्ति अनसन बस्नुभएको छ ।
बागचौर नगरपालिका वडा नम्बर २ अग्ला टाकुरा भ्यू टावरमा रहेको मन्दिर नजिकै मुर्ति निर्माणमा आफुले बजेट माग गरेकोमा बजेट प्राप्त नभएको बताउँदै स्थानीय लस्तम निवासी रुद्र मधु डि.सी. अनसन बस्नुभएको हो ।
शुक्रबार बेलुका ७ बजेदेखि बागचौरको सहिद हेट नजिकैको पिपल चौतारामा डि.सी. पहेँलो पोशाकमा अनसन बस्नुभएको छ ।
कसैसँग कुरा समेत गर्न नमानेका डिसीले कागजमा लेखेर आफनो अनसनबारे खबर ग्यालरीलाई जानकारी दिनुभयो । अघिल्लो वर्ष अग्ला टाकुरा भ्यू टावर छेउमा रहेको डाँगी जातिहरुको मन्दिरमा मुर्ति, ट्रस्ट घर, गेट, टिनका झलर, मुर्ति राख्ने ठाउँ, भित्री घेरबार, ४ वटा बोर्ड निर्माण गरेको, शारदा खोलाबाट बालुवा गिट्टी र पानी बोकेको र १८ जना श्रमिक लगायकोमा कुल खर्च २२ लाख ३० हजार भएको र त्यसमध्य ८ लाख चन्दा उठाएर तिरेको र बाकी रहेको १४ लाख ३० हजार रिन भएको हुँदा त्यो रकम नगरपालिकाले तिर्नुपर्ने उहाँले लेखेको कागजमा उल्लेख छ ।
तत्कालीन सरकारले बजेट विनियोजित गर्ने आश्वासन दिएपछि सो काम उहाँले उधारोमा गरेको र अहिले रिनमा रहेको उहाँले लेखेको कागजमा उल्लेख छ ।
स्रोतका अनुसार तत्कालीन सरकारले स्थानीय रुद्र मधु डिसीलाई काम दिएपछि काम सम्पन्न भएको र रकमको भुक्तानीका लागि पटकपटक बजेटको माग गर्दापनि माग पूरा नभएपछि उहाँ अनसन बसेको बताइएको छ । यता बागचाैर नगरपालिकामा नयाँ सरकार आए सँगै नगरपालिकाले केही बजेट विनियोजन गरेपनि तत्कालीन सरकारले गरेको कामको भुक्तानीका लागि अहिले बजेट अपुग भएपछि पुरा भुक्तानी हुन नसकेको बताइएको छ ।
अहिले अस्थायी प्रहरी बिट बागचौरले डि.सी. लाई सुरक्षा दिईरहेको छ । भोलि ३ गते सम्म वार्ता समिति गठन नभए भोलि साझ ७ बजे बागचाैरबाट निस्कने र नेपालगन्ज हुँदै काठमाडौं सम्म अनसन बस्ने समेत उहाँले लेखेको कागजमा उल्लेख छ ।
प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार १४:१८

