Logo

६ जेष्ठ २०८१, आईतवार

सल्यानमा लोप हुँदै परम्परागत पानीघट्ट

‘सल्यानमा पिसानीका लागि पानीघट्ट पहिलेदेखि भरपर्दो माध्यम भएपनि समय परिवर्तन सँगै विभिन्न प्रविधिको विकास भएपछि परम्परागत पानीघट्टको प्रयोग पनि घट्दै गएको हो ।’


बामदेव के.सी.


वैशाख १६, सल्यान ।
सल्यानका विभिन्न ठाउँमा संचालनमा आएका पानीघट्ट बिस्तारै लोप हुँदै गएका छन् ।

जिल्लाका विभिन्न ठाउँमा अन्न पिस्ने परम्परागत पानीघट्ट भएपनि गाउँ-गाउँमा डिजेल तथा बिजुली मार्फत सञ्चालन हुने मिल संचालन भएपछि परम्परागत पानीघट्टको प्रयोग घट्दै गएको हो ।

सल्यानका ग्रामीण क्षेत्रमा विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि परम्परागत पानीघट्टको प्रयोग गर्दै आएपनि विद्युतबाट चल्ने मिल प्रयोगमा आएपछि पानीघट्ट लोप हुँदै गएका हुन ।

‘सल्यानमा पिसानीका लागि पानीघट्ट पहिलेदेखि भरपर्दो माध्यम भएपनि समय परिवर्तन सँगै विभिन्न प्रविधिको विकास भएपछि परम्परागत पानीघट्टको प्रयोग पनि घट्दै गएको हो ।’

सल्यानका अधिकांश ठाउँमा मिल सञ्चालनमा आएपछि यसले मानिसलाई सजिलो बनाइदिएको सल्यानको बागचाैर नगरपालिका वडा नम्बर – २ निवासी दुर्गा के.सी. बताउनुहुन्छ । पहिले घट्टमै आँटो पिठो पिस्ने मान्छेहरुको भिडभाड धेरै हुने गरेपनि अहिले बागचाैर बजारमै मिल सञ्चालनमा आएपछि घट्टमा मानिसहरु निकै कम आउने गरेको उहाँको भनाइ छ ।

“पहिले कुटानी पिसानी गर्ने पानी घट्ट बाहेक अरु केही थिएन, अहिले घट्टले भन्दा मिलले छिटो पिस्छ, त्यसले गर्दा पनि मान्छे जता छिटो हुन्छ उतै जानेभए, पहिले चलेका घट्ट अहिले पुरानो भएर भत्किन थालिसके, मान्छेले अब सजिलो र छिटो खोज्न थालिसके’ – उहाँले भन्नुभयो ।”

‘केही वर्ष पहिले बागचाैर, जिउँला, खत्रीगाउँ, कोटमाैला, थाराचाैर, सोतागार,रातपरा, लस्तमबाट कुटानी पिसानीका लागि मान्छेहरु घट्ट पिस्न आउनेको लाइन हुन्थ्यो, पालो कुरेर भए पनि पिसेर जान्थे, अहिले घट्ट खाली भएर पनि खासै मान्छेहरु आउँदैनन्’- उहाँले भन्नुभयो ।

यस्तै गर्मीयाम सुरु भए सँगै शारदा खोलामा पानी सुक्दै गएपछि अहिले पानीघट्ट बन्द गरेको बागचाैर नगरपालिका वडा नम्बर – २ निवासी टाेप बहादुर डाँगीले बताउनुभयो ।

‘अहिले पानीघट्ट बाट खासै आम्दानी त केही पनि छैन, मिलले पिसेको गहुँ, मकै भन्दा घट्टले पिसेको राम्रो हुने भएपनि बाबु-बाजेले गराएको घट्टलाई संरक्षण गर्नुपर्छ’ – डाँगीले भन्नुभयो। ‘सिमेन्ट र टिन सँगै पानीघट्टको भित्र-बाहिर ढलान गरेर राखेको छु, बुबाको चिनु भनेर घट्ट निर्माण गरेको हु र यसको संरक्षण गर्नुपर्छ भनेर लागेको छु’ – उहाँले भन्नुभयो ।

समय परिवर्तन सँगै मानिसहरुले घट्ट भन्दा घर नजिकै रहेका मिलबाटै सुविधा लिने भएपछि परम्परागत पानीघट्टहरु बिस्तारै लोप हुदै गएको उहाँको भनाइ छ ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार १९:४७

प्रतिक्रिया दिनुहोस्