Logo

९ श्रावण २०८३, शनिबार

आफूलाई पत्रकार बताउने वलीले फेक आइडि बनाई ५५ हजार ठगेको खुलासा : प्रहरीद्वारा खोजी कार्य जारी


खबर ग्यालरी


साउन १८, सल्यान ।
सल्यानमा पत्रकारको परिचय दिदै आएका प्रेम प्रकाश वलीले एक ब्यक्तिलाई ५५ हजार रुपैयाँ ठगेको खुलासा भएको छ।

जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ६ चौलाबोटका २७ बर्षिया प्रेम प्रकाश वलीले बागचौर नगरपालिका सल्यानमा कार्यरत अधिकृत पुर्ण बहादुर वलीको नक्कली फेसबुक आईडी खोलेर आफ्नै फुपूको छोरा पर्ने सोहि नगरपालिका वडा नं.७ दहका २२ बर्षिया टेकम खड्कालाई ५५ हजार रुपैयाँ ठगि गरेको कुरा बागचौर नगरपालिकामा कार्यरत अधिकृत पुर्ण वलीले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेपछि उक्त कुरा खुलासा भएको हो।

बागचौर नगरपालिकामा स्काभेटर चालक पदमा जागिर लगाइदिन्छु भन्दै, आफुलाई प्रेम प्रकाश वलीले ठगी गरेको पीडित टेकम खड्काले बताउनु भएको छ। खड्काका अनुसार ठगि गर्ने प्रेम प्रकाश वलीले बागचौर नगरपालिकाका अधिकृत पुर्ण वली सँग आफ्नो जागिर पक्का भएको कुराकानी गरेका म्यासेज नगरपालिकाको कार्यालयमै साउन ११ गते आएर देखाएपछि यो कुरा बाहिर आएको हो ।

जागिरकै आशामा आफुले प्रेम प्रकाश वलीलाई केही महिना अगाडि ३० हजार बुझाएको र असार महिनाको अन्त्य तिर बाकी २५ हजार बुझाएको र आफ्नो जागीरको बिषयमा बागचाैर नगरपालिकाका अधिकृत पुर्ण वली सँग बुझ्न जाँदा मात्र आफु ठगिएको थाहाँ पाएको पिडित खड्काको भनाई छ।

विगतका दिनहरु देखि नै विभिन्न फेसबुक आइडि खोलेका प्रेम प्रकाश वलीले पत्रकार हु भन्दै पत्रकारिताको मर्म विपरीत विभिन्न व्यक्तिहरुको चरित्रहत्या गर्नुका साथैं समाचारमा तथ्यहिन लेख्दै, बिभिन्न कार्यालय र अन्य धेरै व्यक्तिहरुलाई समेत धम्क्याउने र बल्याकमेल गरेर पैसा उठाएको गुनासो सुनिदै आएका थिए।

यस्तै बागचौर नगरपालिकाका अधिकृत पुर्ण वलीले यो विषयमा इलाका प्रहरी कार्यालय थारमारेमा साइबर क्राइम अन्तर्गत उजुरी दिएको बताउनुभयो। सोही साइबर क्राइम अन्तर्गतको उजुरीका आधारमा प्रेम प्रकाश वलीको अहिले खोजिकार्य भइरहेको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ। तर यता पिडित टेकम खड्का पक्षमा बाट भने अहिलेसम्म कोही पनि जाहेरी दिन नआएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ।

यस्तै उक्त घटना बारे नेपाल पत्रकार महासंघ सल्यानले एक बिज्ञप्ती जारी गर्दै पछिल्लो समयमा सरोकारवालाहरु बाट विना पत्रकारिताका पत्रकारको कारण समस्या आइरहेको भन्ने गुनासो सुनिन थालेको र जिल्लामा केहि व्यक्तिले पत्रकारितालाई देखाउने दाँत बनाएर सौदावाजी गरिरहेको र सामाजिक संजालको समेत चरमदुरुपयोग गरि गलत कार्य गरेको पाइएको नेपाल पत्रकार महासंघ सल्यानले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

बिज्ञप्तीमा उक्त व्यक्ति नेपाल पत्रकार महासंघ सल्यानमा सदस्य समेत नरहेको जारी बिज्ञप्तीमा उल्लेख छ। इमानदारिताका साथ काम गर्दै आएका पत्रकार, संचारकर्मी माथि तथा सिंगो पत्रकारिता क्षेत्रमाथि नै गलत आक्षेप लाग्न सक्ने बिषय तर्फ नेपाल पत्रकार महासंघ सल्यान गम्भीर रहेको र त्यस्तो गलत कार्य गर्ने,गराउन प्रेरणा दिने सबैलाई कानुनी दायरामा ल्याएर हदैसम्मको कार्वाहीको लागी सम्बन्धित निकाय संग माग गरिएको समेत जारी बिज्ञप्तीमा उल्लेख छ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार १७:१०

प्रतिक्रिया दिनुहोस्