Logo

६ जेष्ठ २०८१, आईतवार

शिशु जागरण माविमा संग्राहलय स्थापना हुने : स्थानीय पुरातात्त्विक बस्तुको संरक्षण गरिने

'हाम्रा पूर्खाको विरासत स्वरुप प्राप्त यी सामाग्रीहरु हाम्रो लागि अमुल्य सम्पत्ति भएकाले यिनले हाम्रो इतिहास बोल्दै आफ्नोपन र मौलिकता झल्काउने भएकाले, आज यिनको संरक्षण गरिएन भने भोलिको नयाँ पुस्ताले यी र यस्ता सीप, कला र प्रविधिहरु देख्न र जान्न पाउँदैनन् । त्यसैले यस्ता चिजहरुको संरक्षण गर्नुपर्छ भनेर हामी सबै लागेका छाैं ' उहाँले भन्नुभयो ।


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


भदौ १३, सल्यान ।

सल्यानको बागचाैर नगरपालिका वडा नम्बर ९ खोरबारेमा रहेको शिशु जागरण माध्यमिक विद्यालयमा ऐतिहासिक एवं पुरातात्त्विक वस्तु तथा स्थानीय कला सीप र प्रविधिमा आधारित संग्रहालय स्थापना गर्ने अभियानको थालनी गरिएको छ ।

विभिन्न पुरातात्त्विक चिजवस्तुहरुको खोजी गरिरहेको शिशु जागरण माविले दैनिक पठनपाठन हुने स्थानीय विषय, सिर्जनात्मक कला, नेपाली भाषा, सामाजिक अध्ययन र अर्थशास्त्र विषयका पाठ्यवस्तुहरुसँग समेत सम्बन्धित हुने स्थानीय परम्परागत सीप, कला र प्रविधि, प्राचीन पुरातात्त्विक महत्त्वका वस्तु तथा सामग्रीहरुको संकलन गरि तिनको संरक्षण र सम्वर्द्धनमा अहिले चासो देखाएको हो ।

खबर ग्यालरी सँग कुरा गर्दै शिशु जागरण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोक बहादुर डाँगीले लोप हुदै गइरहेको परम्परागत संस्कार, संस्कृति र सभ्यतालाई बचाउनका निम्ति बिद्यालयमा संग्रहालय निर्माण गर्न खोजिएको बताउनुभयो। हिजोका दिनमा हाम्रो पूर्खाहरु कसरी हुर्केका थिए, उनीहरूले आफ्नो गुजारा कसरी चलाउथे, उनीहरूले प्रयोग गर्ने उपकरणहरु के कस्ता थिए ?’ भन्ने यी चिजहरुलाई संग्राहलय बनाएर राखिदिएपछि आउने पिढिले त्यसको सिको गर्ला र केही ज्ञान हासिल गर्ला भन्ने उदेश्यले यो कामको थालनी गर्न लागिएको उहाँको भनाइ छ । ‘अहिले हामीलाई कतैबाट पनि आर्थिक सहयोग प्राप्त भएको छैन । अभिभावकहरु, शिक्षकहरु र विद्यार्थीहरुको परामर्शमा नै हामीले यो कामको थालनी गरेका छाैं’ उहाँले भन्नुभयो ।

यस्तै शिशु जागरण माविका प्रधानाध्यापक रुपलाल भण्डारीले पुरातात्त्विक वस्तुहरुको संरक्षणमा आफूहरू जुटेको बताउनुभयो । अहिले संकलन गरेर राखिने चिजबस्तुले पछिका पुस्ताहरुका लागि सुन्दर इतिहास बन्ने उहाँको भनाइ छ । ‘हामीले विभिन्न विषयहरु पढाउदै गर्दा यी चिजहरुलाई प्रयोगात्मक तरिका अपनाएर विद्यार्थीहरुलाई सिकाउन सकिन्छ, यो अहिले प्रारम्भिक चरनमै छ, निकट भविष्यमा स्थानीय तह वा अन्य कुनै निकायबाट संग्राहलय निर्माणमा लगानी भयो भने अझै व्यबस्थित बनाउदै लाैजाने योजना छ’ उहाँले भन्नुभयो ।

यस्तै शिशु जागरण माविमा कार्यरत शिक्षक विरेन्द्र प्रकाश डि.सी. ले बालबालिकाहरुमा ऐतिहासिक एवम् मौलिक कला, सीप र प्रविधिका बारेमा जानकारी गराउने र उनीहरूलाई पुर्खाहरुको परम्परागत जनजीवनको बारेमा ज्ञान, सीप तथा धारणाको विकास गराउन विद्यालय, अभिभावकहरु बीचको सहकार्य तथा विद्यार्थीहरुको प्रयोगात्मक र परियोजना कार्य समेत समावेश हुनेगरी विद्यालयमा एक व्यवस्थित संग्रहालय स्थापना गर्न लागिएको बताउनुभयो ।

अहिले आयातित विदेशी प्रविधिको प्रभाव र आधुनिक जीवनशैलीको कारण यी सीप, कला र प्रविधि विस्तारै लोप हुदै गएको उहाँको भनाइ छ । ‘हाम्रा पूर्खाको विरासत स्वरुप प्राप्त यी सामाग्रीहरु हाम्रो लागि अमुल्य सम्पत्ति भएकाले यिनले हाम्रो इतिहास बोल्दै आफ्नोपन र मौलिकता झल्काउने भएकाले, आज यिनको संरक्षण गरिएन भने भोलिको नयाँ पुस्ताले यी र यस्ता सीप, कला र प्रविधिहरु देख्न र जान्न पाउँदैनन् । त्यसैले यस्ता चिजहरुको संरक्षण गर्नुपर्छ भनेर हामी सबै लागेका छाैं ‘ उहाँले भन्नुभयो ।

यस्तै अभिभावकहरु, विद्यार्थीहरु र अन्य व्यक्तिहरुबाट उपलब्ध भएका सामग्रीको स्रोत र सौजन्य समेत खुलाइ संग्रहालयमा सोको अभिलेख सहित सामग्रीहरु सुरक्षित रूपमा राखिने समेत उक्त बिद्यालयले जनाएको छ ।

बिद्यालयको संग्रहालयमा पुरानो उज्यालो प्रविधि, कृषि कार्यसँग सम्बन्धित पुराना सामग्रीहरु, बाँस निगालो र चोयाको सीपसँग सम्बन्धित सामग्रीहरु, परम्परागत घरेलु सामग्रीहरु, पुराना इलेक्ट्रोनिक सामग्रीहरु, स्थानीय बाजागाजाहरु राखिने जनाइएको छ । यस्तै घरेलु हतियार र औजारहरु सँग सम्बन्धित सामग्रीहरु, पानीघट्टसँग सम्बन्धित सामग्रीहरु, परम्परागत घरेलु प्रविधि सँग सम्बन्धित सामग्रीहरु, परम्परागत शिक्षा प्रणाली सँग सम्बन्धित सामग्रीहरु, नाप तौल सँग सम्बन्धित सामग्रीहरु, पुराना नोट र सिक्काहरु पुराना किताब, ग्रन्थहरु, काठ, छाला, धातु आदिबाट बनेका अन्य सामग्रीहरु समेत राखिने शिशु जागरण माविले जनाएको छ । 


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार ०७:४७

प्रतिक्रिया दिनुहोस्