Logo

८ श्रावण २०८३, शुक्रबार

सल्यानको कपुरकोट गाउँपालिका कार्य प्रगतिका आधारमा प्रथम


खबर ग्यालरी


पौष ६, सल्यान ।

आर्थिक बर्ष २०७९।०८० को कार्य प्रगतिका आधारमा सल्यानको कपुरकोट गाउँपालिका प्रथम भएको छ । जिल्लामा रहेका १० पालिकालाई उछिन्दै कपुरकोट गाउँपालिका प्रथम भएको हो । एक सय पूर्णाङ्कमा गरिएको मूल्यांकनमा बागचौर नगरपालिका द्धितिय र त्रिवेणी गाउँपालिका तृतीय भएको छ।

वित्तिय प्रगति, भौतिक प्रगति, योजनाको पारदर्शिता, कार्यान्वयनमा नयाँ अभ्यास,आर्थिक सुशासनका उपलब्धि, शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छी, सेवा प्रवाहको गुणस्तर, अनुगमन, लैंगिक समानता,अन्तर पालिका समन्वय, विगतको समीक्षा र भावी योजना लगायतका बिभिन्न १४ सूचकमा रहेर मूल्यांकन गरिएकोमा कपुरकोट गाउँपालिका प्रथम भएको हो।

जिल्ला समन्वय समिति सल्यानको आयोजनामा भएको वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा रहेका सङ्घीय तथा प्रादेशिक कार्यालय तर्फ कृषि विकास बैङ्क प्रथम,स्वास्थ्य सेवा कार्यालय द्धितिय र पशु सेवा कार्यालय सल्यान तृतीय भएको छ।

कार्य प्रगतिमा प्रथम,द्धितिय र तृतीय हुने पालिकालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र जिल्ला समन्वय उपप्रमुख असबीर बुढाथोकीले हस्ताक्षर गरेको प्रशंसा पत्र प्रदान गरिएको कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो।

यता आफू नेतृत्वको गाउँपालिका २०७९।०८० को वार्षिक कार्य प्रगतिमा प्रथम भएपछि गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन र उपाध्यक्ष प्रकाश भण्डारीले कार्य सम्पादनमा सहयोग पुर्‍याउने सम्पूर्ण कर्मचारी,जनप्रतिनिधि,राजनीतिक दल,टोल विकास संस्था तथा आम गाउँपालिकावासीलाई धन्यवाद ब्यक्त गर्नुभएको छ।


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार ११:०५

प्रतिक्रिया दिनुहोस्