भदौ २४,सल्यान ।
सल्यानमा दशैंको अवसरमा फुटबल प्रतियोगिता हुने भएको छ । टेक प्रालि सल्यानको आयोजनामा प्रथम सल्यान टेक गोल्ड कप–२०८१ सल्यान खलङ्गाको लुहापिंगको खेल मैदानमा संचालन हुने भएको हो ।
खेलको विकास र विस्तारसँगै खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले आगामी असोज १८ गतेदेखि असोज २२ गतेसम्म फुटबल प्रतियोगिता संचालन हुने प्रथम सल्यान टेक गोल्ड कप–२०८१ का संयोजक बासुदेव चलाउनेले जानकारी दिनुभयो। फुटबल प्रतियोगीतमा १४ जना खेलाडी जिल्ला भित्रको र २ जना खेलाडी जिल्ला बाहिरको समावेश हुन पाइने उहाँले जानकारी दिनुभयो ।
उक्त फुटबल प्रतियोगितामा सहभागी भएर प्रथम हुने समुहलाई नगद ६६ हजार ६ सय ६६ रुपैयाँ र द्वितीय हुने समुहलाई ३१ हजार १ सय ११ रुपैयाँको पुरस्कार राखिएको उहाँले जानकारी दिनुभयो ।
टिम दर्ताको समय असोज १६ गते बेलुका ५ बजेसम्म कायम गरिएको र टिम दर्ता शुल्क ५ हजार ५ सय राखिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार ०९:०२

