Logo

२५ बैशाख २०८१, मंगलवार

प्रकाश ज्वाला : जो सल्यानमा ज्वाला जस्तै चम्किए


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


मंसिर ८, सल्यान ।
सल्यानमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रकाश ज्वाला विजयी हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्यमा सल्यानबाट गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका साझा उमेदवार बन्नुभएका ज्वाला भारी मत ल्याएर विजयी हुनुभएको छ ।

ज्वालाले ३५ हजार ७ सय मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले १९ हजार ७ सय ८९ मत ल्याउनुभयो । ज्वालाले १५ हजार ९ सय ११ मतको फराकिलो मताअन्तरले जित हासिल गर्नुभएको हो । यस्तै नेकपा एमालेका उम्मेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत ल्याउनुभयो ।

सल्यानमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका राजेन्द्र बहादुर शाह ज्वाला सँग चुनावी मैदानमा हुनुहुन्थ्यो । यस्तै राप्रपा बाट नेकपा एमालेमा प्रवेश गर्नुभएका राजेन्द्र विर राय पनि ज्वाला सँग चुनावी मैदानमा हुनुहुन्थ्यो ।

बुबा चन्द्र बहादुर साहु र आमा टिकादेवी साहुको कोखबाट वि.स. २०२३ साल मंसिर १२ गते जन्म लिनुभएका ज्वालाले राजनीतिशास्त्रमा एम.ए. र कानुनमा बि.एल. गर्नुभएको छ । साविकको देवस्थल ४ सल्यान र हालको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ देवस्थल सल्यान घर भएका ज्वाला राजनीति सँगै लेखनमा पनि रुचि राख्नुहुन्छ । 

एककाईसाैं शताब्दी समाजवादको शताब्दी (लेख सङ्ग्रह, २०५८), प्रतिनिधि सभामा प्रकाश ज्वाला (संबोधन, २०५९), वैचारिक विचलनको भुमरीमा: माओवादी आन्दोलन, (२०५९ ) जस्ता प्रख्यात कृतिहरु उहाँ द्वारा प्रकाशित भइसकेका छन् । यसका साथै विभिन्न पत्रपत्रिका,मूखपत्र, साहित्यिक प्रकाशनहरुमा विविध विषयका थुप्रै लेख रचनाहरु समेत उहाँ द्वारा प्रकाशित छन् । 

यस्तो छ प्रकाश ज्वालाको राजनीतिक यात्रा :
– अनेरास्ववियु प्रारम्मिभक कमिटी, क्षेत्रीय कमिटी र केन्द्रीय कमिटी सदस्य (२०४२)

– तत्कालीन नेकपा (माले) सुर्खेत जिल्ला पार्टी सक्रिय दलको सदस्य,इ.क. सचिव, जिल्ला संगठन कमिटी सदस्य (२०४४)

– तत्कालीन नेकपा (माले) सल्यान जिल्ला संगठन कमिटी सचिव (२०४७)

– नेकपा (एमाले) सल्यान जिल्ला कमिटी सचिव (२०४८-२०५६)

– सल्यान क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य (२०५६-२०५८)

– प्राकृतिक स्राेत साधन समितिकाे सभापति (२०५६ )

– प्रतिनिधि सभा राज्य व्यवस्था समिति सदस्य ( २०५६-२०५८ )

– नेकपा एमाले रास्ट्रिय परिषद सदस्य (२०५८-५९) 

– संविधान सभा सदस्य (२०७०)

– हाल नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी उपमहासचिव, केन्द्रीय संगठन विभाग उपप्रमुख तथा कर्णाली प्रदेश इन्चार्ज । 

यस्तो छ विभिन्न जिम्मेवारीमा रहदा देशका लागि ज्वालाले गरेका उल्लेखनीय कामहरु:

ज्वालाले २०६१ माघमा राजा ज्ञानेन्द्रको शाह कदम बिरुद्ध आवाज बुलन्द पार्नुभएको थियो । २०६२ चैत २४ देखि शुरु भएको रास्ट्रव्यापी आम हडताल सहितको निर्णायक जनआन्दोलनका क्रममा गोंगबु मोर्चाको कमाण्ड गर्नुभएको थियो । यस्तै ज्वालाले प्रतिनिधिसभा प्राकृतिक श्रोत र साधन समितिको सभापतिको रुपमा राजा र राजपरिवारको जग्गा जमिन र सम्पत्ति छानवीन गरि सरकारकाे स्वमित्वमा ल्याउन मुख्य भुमिका निर्बाह गर्नुभएको थियो ।

व्यबस्थापिका संसद अर्थ समितिको सभापति भएर काठमाडौं निजगढ फास्ट ट्रयाक नेपालले आफैं बनाउने पहल देखि एनसेलको पूंजीगत लाभ कर संकलनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका ज्वालाले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, सहकारी ऐन लगायत दर्जन बढी ऐन निर्माण गर्नुभएको थियो ।

ज्वालाले गुठी, सुकुम्बासी, भूमीहीन, लगायत भूमी सम्बन्धि समस्या समाधान र संविधान निर्माणमा सक्रिय भुमिका खेल्नुभएको थियो । संविधान लेखन तथा मस्याैदा समिति सदस्य रहि संविधान लेखनमा समेत महत्त्वपूर्ण भुमिका निर्वाहा गर्नुभएका ज्वाला ०५१ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको थियो ।

ज्वाला बहुदल पछिका धेरै जसो चुनावमा सल्यानबाट निर्वाचित हुनुभएको छ । उहाँ पहिलो संविधानसभा निर्वाचनमा भने झिनो मतान्तरले पराजित हुनुभएको थियो । २०७० को दोश्रो संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका ज्वाला संसदको सोहि कार्यकालमा अर्थ समिति सभापति पनि हुनुभयो ।

२०७४ को प्रदेश सभा सदस्यको आम निर्वाचनमा सल्यान जिल्लाबाट प्रदेश सभा (ख) मा एमालेबाट निर्वाचित हुनुभएका ज्वालाले कर्णाली प्रदेश सरकारमा अर्थ मन्त्रि हुँदा विभिन्न उल्लेखनीय कामहरु  गर्नुभएको थियो । उहाँले सांसद पद त्याग गरेर ओली प्रबृत्तिका विरुद्धमा कर्णाली प्रदेश बाट विद्रोह सुरु गरि नयाँ विगुल फुक्नु भएको थियो । तेहि विद्रोहले गर्दा ज्वालाले राष्ट्रिय राजनीतिमा नयाँ छवि बनाउनुभयो ।


प्रकाशित मिति: ८ मंसिर २०७९, बिहीबार ०७:३४

प्रतिक्रिया दिनुहोस्