Logo

२४ बैशाख २०८१, सोमबार

‘नेताहरु जनतामुखि हुनुपर्छ, जनताको सेवालाई पहिलो प्राथामिकता दिनुपर्छ’


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


पुस २३, सल्यान ।

देशमा स्थानिय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन भक्करै सकिएको छ । यस्तै भक्करै सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सकिए प्रस्चात नयाँ संघिय सरकार गंठन पनि भइसकेको छ भने प्रदेश तर्फ सरकार गंठन हुने प्रक्रिया अगाडि बढ्दै छ ।

दोस्रो स्थानिय तहको निर्वाचन सकिए प्रस्चात स्थानिय तहका सरकार प्रमुखहरुले आफुले गर्ने कामको थालनी गरिसकेका छन् ।
जसमध्ये ०७४ को पहिलो स्थानिय तहको चुनाव सँगै ०७९ को निर्वाचनमा समेत सल्यानको दार्मा गाँउपालिकाका जनताले दुई कार्यकालका लागि एउटै व्यक्तिलाई निर्वाचित गराएर पठाए ।

दार्मामा वितेका ५ वर्षको कार्यकालमा भएका कामहरु र दार्मामा भएका विकास निर्माणका कुराहरु, दार्माली जनताका आवस्यकता समस्या र देशको पछिल्लो राजनितिक अबस्था बारे प्रत्यक्ष अन्तर्वार्ता मार्फत बहस गर्ने प्रयास गरिएको छ ।

प्रस्तुत छ सल्यानको दार्मा गाँउपालिकाका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सल्यानका सेक्रेटरी निम बहादुर के.सी. (अरुण ) सँग खबर ग्यालरी डटकमका सम्पादक बामदेव के.सी. ले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले राजनितिलाई कसरी बुझनु भएको छ ?

राजनिति भनेको निस्वार्थ भावले जनताको सेवा गर्ने हो । समाजलाई सकारात्मक परिवर्तन तिर लौजाने साधनको रुपमा हामिले राजनितिलाई बुझनु पर्दछ भन्ने मलाई लाग्छ ।

तपाईंलाई दार्माली जनताले २०७४ को पहिलो स्थानिय तहको चुनाव सँगै २०७९ को चुनावमा पनि निर्वाचित बनाए यसको कारण के रहेछ ?

हामिले पहिलो निर्वाचनबाट निर्वाचित भइसकेपछि विकास निर्माणको दृष्टिले पछाडि परेको दार्मालाई अगाडि बढाउने प्रयासहरुको थालनी गर्‍यौं । विशेष गरि यहाँको सडक सञ्जालको स्थरबृद्धि गर्ने, विद्युतीकरण लाई दार्मा गाँपालिकामा प्रवेश गराउने र त्यसलाई विस्तार गर्ने र खानेपानीको जटिल समस्या रहेका बस्तीहरुमा, विशेष गरि अग्ला बस्तीहरु लगायत अन्य बस्तीहरुमा खानेपानीको व्यवस्थापन गर्ने, सिचाइ कुलोको निर्माण गरि उत्पादनमा बृद्धि गर्ने र दार्मालाई दुध पकेट क्षेत्रको रुपमा विकास गर्ने गरि कार्यक्रमहरु अगाडि बढाउने लगायतका विकास निर्माणका कामहरु गर्‍यौं । कोभिड महामारी लगायत विपतका बेला हामि जनता सँगै रहेर त्यसको सामना गर्‍यौं। दार्मालाई ठुलो क्षति हुनबाट दिनरात खटिएर जोगाउने प्रयास गर्‍यौं ।

दार्मा गाँपालिकाको गाँउसभाबाट पास भएका निति, योजना कार्यक्रम, बजेटका विषयमा जनतालाई सुसूचित गर्ने कार्यक्रमहरु जनता सँग स्थानिय सरकार, जनता सँग जनप्रतिनिधि, सार्वजनिक सुनुवाइ लगायतका कार्यक्रमहरु लगेर जनताका माझमा गएउ । जनताले जिताएर पठाए पछि निति तथा कार्यक्रम यस्तो छ, कार्यक्रमहरु यस्ता छन्, ऐन, काकुन हामिले यसरी बनाएका छौं, यसमा तपाईंहरुको सुझाव के छ भनेर हामिले जनता सँग अन्तरकृया गर्‍यौं , बुद्धिजिवि सँग अन्तरकृया गर्‍यौं । योजना निमार्ण गर्दा पनि विभिन्न चरणहरु हुन्छन् । समुदाय स्तरमा बस्ति स्तरमा, वडा स्तरमा योजनाहरुको छनोट जनस्तर बाटै अनुमोदन गराएर त्यसलाई सभाबाट पास गराउने काम गर्‍यौं । जे जति बजेटले भ्याउछ त्यसको व्यवस्थापन गर्‍यौं र त्यसको सिघ्र कार्यान्यन गर्ने, अनुगमनलाई प्रभावकारी बनाउने, दैनिक प्रशासनलाई चुस्त र जनमुखि बनाउने, पारर्दर्शी बनाउने काम गर्‍यौं ।

अर्को कुरा सरकारमा जानेहरु भ्रष्ट हुन्छन् , भ्रष्टाचार गर्नेलाई जान्छन्, कमाउनलाई जान्छन् भन्ने कुरालाई चिर्न हामिले भ्रष्टाचारमा शुन्य सहनशिलताको अवधारणा सहित हामिले पारदर्शि ढंगले कति बजेट आयो, कुन शीर्षकमा कति बजेट खर्च भयो, त्यसबाट हामिले उपलब्धि के पाएउ भनेर जनतालाई प्रष्ट भनेउ । हामिले कहि पनि कमाउने धेय राखेनौं । बरु हामि जनप्रतिनिधिले कोभिडको बेला संघिय सरकारले दिने राजस्व बाडफाड अन्तरर्गतको रकम ५० प्रतिशत मात्रै आउदा बजेट छुट्टि सकेका र योजनाहरुको काम पनि सम्पन्न भइसकेको, तर बजेट व्यवस्थापन गर्ने नसक्दा हामिले जनप्रतिनिधीहरुको तलब भत्ता कटाएर पनि त्यो विकास निर्माणको कामको भुक्तानी हामिले गर्‍यौं।

जनताको जनजिविका सँग, समस्या सँग जोडिएका काममा एकाकार भएर सबै जनप्रतिनिधिहरु सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सबै वडा सदस्यहरु सक्रियता पुर्वक लाग्नुभयो । त्यसका साथै कर्मचारी साथिहरुले पनि साथ दिनुभयो । आम जनसमुदाय पनि हामि संगै साथमा रहनुभयो । सबै बैद्धिक तप्का, शिक्षक, बुद्धिजिवि, मिडियाकर्मि सबैले पछाडि परेको दार्मालाई छिटो भन्दा छिटो विकासको गतिमा लौजानुपर्दछ र जनताको सेवा नै हाम्रो तर्कव्य हो भन्ने उदेश्यका साथ अगाडि बढ्यौं । त्यसैको प्रतिफल स्वरुप म लगायत हाम्रो पार्टिका साथिहरुले ०७४ को चुनाव भन्दा अझ बढि उपलब्धि सहित हामीले निर्वाचन जितेको जस्तो लाग्छ र यसमा मेरो मात्रै योगदान भन्दा पनि हामि सबैको योगदान छ ।

दार्मा गाँउपालिकाको पहिलो कार्यकाल सकेर यतिबेला तपाईं दोस्रो कार्यकालमा हुनुहुन्छ । तपाईंको पहिलो कार्यकालमा के कति काम भए ? अब दोस्रो कार्यकालमा के के काम गर्ने योजना बनाउदै हुनुहुन्छ ?

विशेष गरि विद्युतीकरण सडक सञ्जालको स्थिरीकरण, खानेपानी, सिचाइ, रोजगार श्रिजना, उद्यम, उत्पादन, आदिमा हामिले जोड गर्‍यौं। हामिले अबको कार्यकालका लागि विशेष गरि उत्पादनमा वृद्धि गर्ने र त्यसलाई उद्यममा बदल्ने र त्यसलाई बजारीकरण गर्ने र जनताको आमदानी बढाउने तिरै बढि केन्द्रित छौं । त्यसका लागि यो विद्युतीकरण को अभियानलाई पुर्ण विद्युतीकरणमा बदल्ने, गाँउपालिकाको केन्द्र सम्म आउने बाटोलाई कालोपत्रे गर्नका लागि पहल गर्ने र वडा सम्मका बाटोलाई स्तरबृद्धि गर्ने, सिचाइ नहरहरुको बृद्धि गरेर उत्पादन बढाउने, खानेपानीलाई अझै व्यवस्थित गरेर जाने, रोजगार सिर्जना गर्ने, यहाँका नागरिकलाई कृषि र पशुजन्य उद्यममा जोड्ने हो, उत्पादनमा जोड्ने हो ।

दार्माली जनताका समस्या र सुखदु:ख मा प्राय तपाई घुलमिल भएको दखिन्छ । जनप्रतिनिधिहरु जनताका समस्या र जनताका आवस्यकता बारे सचेत हुन कत्तिको आवश्यक छ । के साच्चिकै तपाईं जनताका समस्या सँग नजिक हुन खोज्नुभएको हो ?

त्यो त हाम्रो न्युनतम कर्तव्य र जिम्मेवारी भइहाल्यो । हामिले यसलाई छुट्टै काम गरेको भन्दा पनि जनताले विश्वास गरेर हामिलाई मतदान गरे, हामी जनता सँग रहने हाम्रो न्युनतम कर्तव्य हो ।

तपाईं निर्वाचित हुनु अगाडिको दार्मा र तपाईं निर्वाचित भएपछिको दार्मामा आफूले के के कुरामा परिवर्तन ल्याएको जस्तो मान्नुहुन्छ ?

जनताको चेतना स्तरबृद्धि गर्ने मुल कुरा हो । विकास भनेको जनताको चेतनामा विकास हुने समाजिक कुरीति कुसंस्कार, विकृति, विसंगति, हटाएर एउटा सभ्य समुन्नत समाज निर्माण गर्ने हो । त्यता तिर हामिले पहल गरेका छौं । पहिलेको भन्दा अहिले मान्छेहरुमा सकारात्मक सोच, समाज परिवर्तनको सोच, भेदभाव, महिला हिंसा, बाल श्रम, शोषण लगायतका कुरामा जनता सचेत भएको अनुभुति भएको छ । अर्को कुरा विकास भनेको सरकारले मात्रै गर्ने होइन हामिले पनि गर्नुपर्छ भन्ने जनतामा एउटा चेतना जागेको छ, यो नै हाम्रो मुल उपलब्धि हो ।

अर्को भनेको दार्मा गाँउपालिकामा हामि पुन निर्वाचित हुदै गर्दा विद्युत थारमारेमा थियो यहाँ देखि लगभक १५ किलोमिटर टाढा । त्यो विद्युतलाई हामिले दार्मा गाँउपालिकाको केन्द्र र यहाँका वडाहरुमा विस्तार गर्दे अहिले सबै वडा कार्यालयका विभिन्न ठाँउमा विद्युत विस्तार गरेका छौं । कोभिडको महामारी र ठेगादारको लापरबाहीले विद्युत विस्तारमा केहि ढिला त भयो । विशेष त दार्मामा दखिएको परिवर्तन भनेको बिजुली, सडकको स्तरबृद्धि, खानेपानिको व्यवस्थापन, सिचाइ नै हो । यहाँका जनतालाई स्वरोजगार बनाउने र हामिले हाम्रो समाजको लागि केहि गर्नुपर्छ र प्रगति गर्नका लागि केहि संघर्ष गर्नुपर्छ भन्ने कुराको चेतना जाग्नु नै यहाँको परिवर्तन हो भन्ने मलाई लाग्छ ।

कत्तिको सहज छ पार्टिको नेतृत्व तहमा रहेर काम गर्न र जनप्रतिनिधि भएर काम गर्न ?

सहज त दुवैमा छैन । दुवै निकै महत्वपूर्ण कुरा हुन । पार्टिको नेतृत्व गर्ने कुरा पनि चानचुने कुरा छैन । पार्टिले त झन सरकारलाई पनि दिशानिर्देश गर्नुपर्छ र सम्रग समाजको नेतृत्व गर्नुपर्छ र सरकारमा आइसकेपछि हामि कुनै पार्टि विशेषको प्रतिनिधि भन्दा सबै जनताको साझा अभिवावक को रुपमा काम गर्नुपर्दछ । पार्टिको आफनो निति, सिद्धान्त कार्यक्रम र योजना हुन्छ त्यो अनुसार अगाडि बढ्नुपर्ने हुन्छ । सरकारमा आइसकेपछि नेपालको संविधान ऐन, नियम,कानुन र हामि आफैले बनाएका कानुन अनुसार सबै जनताको साझा अभिवावक भएर भेदभाव रहित , पूर्वाग्रह रहित भएर जनताको सेवा गर्ने कुरालाई केन्द्रमा राख्नुपर्दछ । हामिले पार्टिको आदेश मान्ने भन्दा पनि संविधानले हामिलाई दिएका अधिकारहरुको प्रयोग गर्ने, र त्यो संविधानको परिधि भित्र रहेर ऐन, नियम र कानुनमा रहेर जनतालाई सुशासन दिने कुरा हो । त्यस कारणले पार्टि र सरकारले गर्ने कार्यशैलीमा फरक त हुन्छ नै तर जिम्मेवारीमा चाहिँ दुवै बराबर हुन भन्ने मलाई लाग्छ ।

भक्करै सम्पन्न भएको स्थानिय तहको चुनाव, प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको मतपरिणाम लाई हेर्दा नेकपा माओवादी पार्टिको जनमत निरन्तर घट्दो छ । तपाईं जस्तो सक्षम नेतृत्व सफल भइरहदा पार्टिको मत चाहिँ किन घट्दो होला ?
यसमा २०७४ सम्म आउँदा चाहिँ घटेको हो । २०७४ र अहिलेको चुनावमा मैले घटेको चाहिँ देख्दैन । सबै पार्टिको सम्मान ढंगले केहि प्रतिशत घटेको छ । प्रतिशतका हिसाबले हेर्ने हो भने माओवादिको भन्दा कांग्रेस र एमालेको मत अझ बढि घटेको छ । त्यो घट्नुको कारण भनेको यो ५ बर्षको बिचमा जनताले जे अपेक्षा गरेका थिए ठूला र पूराना दलहरुबाट, त्यो अपेक्षा पुरा हुन नसक्नु, असन्तुष्टि बढ्नु , सम्रग देशको लागि सोच्ने भन्दा पनि पार्टिको गुटउपगुट भन्दा माथि उठ्न नसक्ने । त्यो भित्र पनि आफनो नातागोता, र आफनो ब्यक्तिगत स्वार्थलाई अलि बढि महत्व दिने हामि सबैमा त्यो पलाएको हुनाले जनतामा निराशा छायो बेरोजगारीको समस्या हल हुन सकेन ।

तमाम भ्रष्टाचार अनियमितता लगायतका जति पनि कुरीती कुसंस्कार छन् राष्ट्रले भोग्नु परेका, देशले जुन गति लिनुपर्ने हो त्यो नलिदा खेरि निराशा आक्रोश आवेकको मत अहिले उदाएका नयाँ पाटिहरुमा जादा त्यो मत सबैको घटेको छ । किनभने २०७४ मा हामी १३ लाखको हाराहारीमा थियौं भने प्रत्यक्षमा साडे १२ लाखको हाराहारीमा हुदा र प्रत्यक्षमा थारै ठाउँमा उठ्दा त्यति मत आउनु पनि अन्य पार्टिको तुलनामा माओवादिको मत घटेको चाहिँ होइन । धैरै ठूलो मत यो मंसिरका बेला हाम्रो पार्टिका सर्मथक शुभचिन्तकहरु भारत लगायत तेस्रो मुलुकमा हुनुहुन्थ्यिो । यो देशमा हामिले रोजगारको सिर्जना गर्ने नसक्दा भारत लगागत तेस्रो मुलुकमा रहेका हाम्रा सर्मथकहरुले मत हाल्न आउन पाउनु भएन । स्थानिय तहको चुनाव जत्तिको मत प्रदेश सभा र प्रतिनिधि सभामा खस्न सकेन, त्यो घटेको मत भनेको हाम्रो नै हो । त्यसैले सोचे जस्तो परिणाम नआएको मात्र हो । २०६४ बाट २०७० मा आएदा ह्वातैै घटेको हो । २०७४ सम्म आउदा धैरै घटेको हो । अहिले स्थिर छ भन्छु, माओवादिको मत घटेको चाहिँ होइन । यसमा अन्य पार्टिको तुलनामा हाम्रो प्रतिशत कम छ । यहिँ मतलाई हामीले माओवादी सिद्धान्त, माओवादी कार्यशैली अनुसार जनतामा हामी गयौं भने यो प्रयाप्त मत हो भन्ने मलाई लाग्छ र बढ्न सक्छ भन्ने हो ।

नेकपा माओवादी पार्टिको पछिल्लो मत परिणामले गर्दा पार्टिको नेतृत्व तह देखि कार्यकर्ता सम्ममा निरास्यताको अवस्था देखिएको छ । तपाईंको विचारमा आउदा दिनहरुमा पार्टिलाई सुधारउन्मुख अवस्था तिर लौजान र पार्टिलाई मजबुत बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?

धेरै केहि गर्नुपर्दैन । “नेताहरु र कार्यकर्ताहरु सबै जनता मुखि हुनुपर्छ, व्यक्तिगत स्वार्थ केन्द्रित भन्दा समाजको स्वार्थमा केन्द्रित हुनुपर्छ, जनताको सेवालाई प्राथामिकतामा राख्नुपर्दछ ।” हामि माओवादीहरुले अङ्गालेकाे माओवादी सिद्धान्त अनुसार आफनो जीवनशैली बदल्नुपर्छ । जीवनशैली लाई सिद्धान्त र जीवन व्यावहारको तालमेल मिलाउनु पर्छ । हामि कुरा साम्यवादका गर्ने जीवनशैली चाही पुँजीवादी भन्दा भद्दा भएर विग्रको हो । त्यसकारणले यो अन्तिम मौका हो माओवादीलाई सच्चिने, सुध्रिने । यो परिवर्तनको मुल बहाक माओवादी हो । यो संविधानको मुल बहाक माओवादी हो । त्यस हिसाबले यो परिवर्तनको एउटा सुत्राधार भएको हिसाबले यो परिवर्तनलाई जोगाउन, यो उपलब्धिलाई जोगाउन माओवादीले आफनो कार्यशैली सुधार गर्नैपर्छ । हामी जनता तिर फर्किनै पर्छ । जुन एजेन्डा उठाएर हामी अगाडि बढेका हौं त्यो एजेन्डालाई हामीले भुल्नु हुदैन । हो त्यहीँ एजेन्डामा रहेर जनताको सेवामा देशको सेवामा समर्पित भएउ भने यो सम्भव छ । यो गर्न सकिन्छ, र गर्नुपर्दछ ।

नेकपा माओवादी पार्टिमा मात्र होइन, प्राय अन्य पार्टिमा पनि पार्टिको नेतृत्वदायी भुमिकामा युवाहरु केही हद सम्म देखिए पनि, अझै पनि युवा नेतृत्वहरुलाई माथि उठ्न नदिने अवस्था बनेको छ । यस्तो किन भएको होला ? के राजनितिमा पुस्ता हस्तान्तरण हुन नसकेकैे हो त ?

अब यो संगठनात्मक विधि पद्धति पार्टिहरुमा पुरानो भयो । अहिलेको नयाँ युगले मागे अनुसारको संगठनात्मक विधि हामिले तय गनुपर्दछ । नेतालाई मनपर्यो भने माथि बढाउने, व्यक्ति हावि भयो भने त्यसलाई उस्कनै नदिने, कसरी पछाडि धकेल्न सकिन्छ भन्ने जो प्रबृत्तिको अन्त्य हुन जरुरी छ । हरेक पार्टिमा नेतृत्वमा रहेका व्यक्तिहरु हाबि हुने होइन कि त्यहाँ निति विधि हाबि हुनुपर्छ । म त भन्छु कम्युनिष्टहरु भन्दा एउटा विधि कांग्रेसमा छ नेतृत्व चयनमा । तुल्नात्मक हिसाबले उनिहरु सैद्धान्तिक र राजनितिक हिसाबले पछाडि भएपनि संगठनात्मक हिसाबले निर्वाचित हुने विधि छ । यो धैरै राम्रो छ । कम्युनिष्टहरुले पनि अझ माओवादीले अहिलेको सन्दर्भमा माओले भने जस्तै संगठनमा “थ्रि इन वान हुनुपर्छ ” प्रौढ पनि हुनुपर्छ, जेष्ठ पनि हुनुपर्छ, युवा पनि हुनुपर्छ, त्यसमा समावेशी समानुपातिक पनि हुनुपर्छ, यसलाई संम्बोधन गर्ने खालको संगठनात्मक विधि तयार गर्नुपर्यो । त्यो विधि सबैले मान्नुपर्छ । त्यो अनुसार अगाडि बढ्यो भने युवाहरु अगाडि आउछन् , त्यो कसैले दिने र कसैले लिने प्रश्न होइन विधिको समस्या हो ।

नेपालमा विभिन्न कालखण्डमा विभिन्न परिवर्तनहरु भए । तर जनताले सोचेको जस्तो परिर्वतन महशुस गर्न पाएका छैनन् । जसले जनतामा निरास्यता छाएको छ । यस्तो किन भएको होला ?

यो व्यवस्था को दोष हो । यसमा व्यक्ति जति राम्रो भएपनि यो जुन अहिलेको व्यवस्था छ, जुन प्रणाली छ, यहीं नै गडबढि भएको छ । जस्तो कि यो शासकीय स्वरुप, निर्वाचन प्रणाली र अहिलेको संसदीय व्यवस्था जो छ, यो एक प्रकारले नेपालको सन्दर्भमा असफल भएको अनुभुत हुन्छ । अर्को यहिँ संविधान यहीँ व्यवस्थाबाट पनि धैरै परिवर्तन गर्न सकिन्छ । त्यसमा नेतृत्वमा रहेका व्यक्तिहरुको गलत कार्यशैलीले गर्दा, आफु सत्तामा पुग्दा देश बिर्सेर, पार्टि बिर्सेर समाज र जनता बिर्सेर व्यक्तिगत स्वार्थमा डुब्दाखेरि यी समस्याहरु आएका हुन ।

त्यसकारण यो संविधानमा रहेका त्रुटिहरु सच्चाउनु पर्छ, बदल्नुपर्छ र त्यसलाई जनमुखी बनाउनुपर्छ । दोस्रो कुरा मैलै अगाडि पनि भने पार्टिभित्र संगठनात्मक विधिलाई सु–ब्यबस्थित गर्नुपर्छ । यो नहुदा सम्म जुन व्यक्ति सत्तामा गयो संघर्षमा रहदा एउटा कुरा गर्छ, सडकमा रहदा एउटा कुरा गर्छ, जब सरकारमा पुग्छ त्यसको उल्टो गर्न थाल्छ । जनताका अपेक्षाहरु धेरै छन् , त्यसलाई हल गर्ने एउटा सु–ब्यबस्थित कार्ययोजना ल्याएर सबैलाई समाहित गरेर देश विकासमा सबैलाई जोडेर लिन नसक्दाको परिणाम हो यो ।

सल्यानको पछिल्लो अवस्थालाई नियाल्ने हो भने कमै मात्रामा युवाहरुले आफनै ठाँउमा रोजिरोटि चलाईरहेको अवस्था छ । चुनावको समयमा युवाहरुलाई रोजगारीको आश्वासन पनि दिइन्छ तर केहि समय पछि ति युवाहरु रोजगारीका लागि विदेश पलायन हुने अवस्था पनि बनेको छ । यस्तो किन भएको होला ?

मैले अगाडि पनि भने मूल समस्या भनेको व्यवस्था प्रणलीको समस्या हो । एउटा व्यक्तिले चकाचौैंउट गर्न सक्ने केहि छैन । दृढ इच्छाशक्ति भएमा केहि परिवर्तन अवश्य गर्न सकिन्छ । देशको शासन प्रणालीमा यो शासन व्यवस्थामा रहेका त्रुटिहरुलाई सच्चाउन जरुरी छ, त्यसकारणले यो इच्छाशक्ति, यो देशको मुल संविधानमा रहेको त्रुटि, व्यवस्था र प्रणलीमा रहेको त्रुटिलाई सच्चाउदै त्यो अनुसारको काम गर्ने सक्ने सक्षम मान्छे जाने एउटा निर्वाचन प्रणली बनाउनुपर्छ ।

‘अहिलेकोे निर्वाचन भनेको पैसा हुनेले र बल हुनेले मात्रै जित्ने खालको भयो सामान्य मान्छेले जित्ने खालको अवस्था छैन, यो बदल्नै पर्छ’। अनि मात्रै देशको लागि केही गर्छु भन्ने मान्छे त्यो सिस्टम बाट सरकारमा जान्छ । उसले युवाहरुका लागि, मजदुरहरुका लागि, किसानहरुका लागि सोच्ने हो । होइन भने त उसले करोडौं खर्च गरेर, बल प्रयोग गरेर चुनाव जित्छ । त्यसलाई उत्तार गर्नका लागि उसले गलत कदम चाल्नुपर्ने हुन्छ । उसले जनताको लागि सोच्दैन, युवाका लागि सोच्दैन । जब सिङ्गो देशको मुल नेतृत्वमा रहेको व्यक्तिले त्यसो गरिसकेपछि तल तल एउटा पालिकाले अथवा एउटा जिल्लाले मात्रै हल गर्न सक्ने विषय होइन ।

पछिल्लो चरणमा जब यो परिवर्तन भयो स्थानिय तह बने प्रदेश र संघिय निर्वाचन भयो । यँहासम्म आउदा केहि सकारात्मक परिवर्तन नभएका होइन्न् , भएका छन् । तर अहिलेको सन्दर्भमा पुग्दो र प्रयाप्त छैन । यसले मात्र थेग्न सक्दैन । यसलाई अझै नयाँ ढंगले संविधानको पनि परिमार्जन गर्ने, व्यवस्था र निर्वाचन प्रणलीलाई पनि नयाँ ढंगले सु–ब्यबस्थित गर्ने र देशमा एउटा समृद्धिको, निर्माणको, रोजगारीको महाअभियान संञ्चालन गर्नुपर्छ र त्यसमा नेताहरु नै अगाडि लाग्नुपर्छ । सरकारका प्रमुखहरु नै अगाडि लाग्नुपर्दछ र त्यसको नेतृत्व गर्नुपर्छ ।

भाषण मात्र गरेर रोजगारी पनि हुदैन, विकास पनि हुदैन । अरुलाई काम गर भन्ने आफु चाहिँ अर्ति मात्रै दिने यो जुन प्रचलन छ, यसलाई हटाउनुपर्छ तब मात्रै यो सम्भव छ ।

रोजगारीकै कुरालाई जोड्दा पछिल्लो समय सल्यानका अन्य ठाँउ भन्दा दार्मा गाँउपालिकाका विभिन्न ठाउँबाट सयौंको सङ्ख्यामा मानिसहरु निजामती क्षेत्रमा प्रवेश भइरहेको देख्न सकिन्छ । यो कसरी सम्भव भयो ? यसलाई तपाईंले कसरी लिनुहुन्छ ?

पहिलो कुरा त लोक सेवाको तयारी गरिरहनुभएका युवाहरुलाई प्रत्साहित गर्ने खालको अभिमुखीकरण कार्यक्रमहरु, अन्तरकृया कार्यक्रमहरु, छलफलहरु चलायौं । अर्को कुरा उँहाहरु आफनो नजिकको मान्छे निजामती क्षेत्रमा प्रवेश गरिसकेपछि त्यसको लहर पनि भयो । दार्मा गाँउपालिका रुकुम सँगै जोडिएको र रुकुमले पछिल्लो चरणमा नेपालकै सन्दर्भमा निजामती सेवामा राम्रो प्रगति गर्दे गइरहेको छ, त्यसको पनि प्रभाव परेको हो । शान्ति प्रक्रियामा आइसकेपछि र नयाँ संविधान बनिसकेपछि युवा पिढिमा, विद्यार्थिहरुमा अब पढ्नुपर्छ केहि गर्नुपर्छ, म सँगैको साथिले यो काम गरिसक्यो, मैले पनि यो काम गर्नुपर्छ भन्ने एउटा चेत भावना जाग्यो । त्यसमा जो जो पास हुनुभयो सुरुका बर्षमा एक दुई बर्ष जो शिक्षक सेवाबाट, लोकसेवा बाट पास हुनुभयो हामीले सम्मान पनि गर्‍यौं, हाम्रो पालिकाले सम्मान गर्यो । जसले पास गर्छ हामी सबैले मिडिया मार्फत, सामाजिक सञ्जाल मार्फत प्रोत्साहित गर्ने र अरुअरुलाई पनि पढ्नका लागि हामीले प्रोत्साहित गर्ने काम गर्‍यौं । लोक सेवा तयारीका लागि आर्थिक अवस्था कमजोर भएका विपन्न, दलित लगायतका युवाहरुलाई, विद्यार्थिहरुलाई पनि लोक सेवा तयारी कक्षाका लागि पनि कार्यक्रम र बजेटको व्यवस्थापन गर्‍यौं । यसले गर्दा केहि सकारात्मक र एउटा आशामुखी परिणामहरु दिरहेको छ ।

तपाईंले दार्मा गाँउपालिकाको नेतृत्व गर्दै गर्दा जनप्रतिनिधिहरु र कर्मचारीहरुको समन्वय र सहकार्य कत्तिको भएको पाउनुहुन्छ ? काम गर्न कत्तिको सहज छ ?

दार्मा गाँउपालिकामा जनप्रतिनिधिको टिम पनि मिलेको छ । जनप्रतिनिधि र कर्मचारीका बिच पनि हामी साथि साथिको सम्बन्धमा अगाडि बढेका छौं । यसमा जनप्रतिनिधिले गाँउसभा बाट बनाएको निति कार्यक्रम योजना अनुसार र यहाँको ऐन, कानुन कार्यविधि अनुसार त्यसपछि संघिय कानुन, संविधान अनुसार कर्मचारीहरुले काम गर्नुहुन्छ । उँहाहरुलाई नितिगत समस्या पर्यो भने हामि हल गछौं । कार्यान्वयनको पक्षमा र दैनिक प्रशासनको मामिलामा उहाँहरुले आफनो काम गरिरहनुभएको छ । त्यसमा हाम्रो ठाँउबाट गर्नुपर्ने सहयोग , अनुगमन सुझाव हामिले दिरहेका छौं । जनस्थरमा पनि जनप्रतिनिधि र कर्मचारी संगसँगै गएर हामिले सुझाव लिने, केहि हाम्रा खराबिहरु हटाउने आदि विषयमा छलफल गरिरहेका छौं । यसका अतिरिक्त काम गर्दागदै कहि कतै केहि जनप्रतिनिधिहरुको र केहि कर्मचारीहरुको कार्यशैली प्रति, उनिहरुको जीवनशैली प्रति केहि प्रश्नहरु नउठेका होइनन् , त्यसलाई पनि हामिले तुरुन्तै कडाइ पुर्वक स्पष्टीकरण लिएर त्यस कुरालाई सुधार गर्नका लागि सचेत गरिरहेका छौं ।

राजनितिमा सफल बन्न पार्टिले पत्याउनुपर्ने हो कि जनताले ? नेतृत्व तहमा पुग्न के कुराले महत्वपुर्ण भूमिका खेल्छ जस्तो लाग्छ तपाईंलाई ?

अब पत्याउने भन्दा पनि मुख्य कुरा जनता नै हो । यसमा जनताको विश्वास मुख्य हुन्छ । पार्टिले पत्याउने भन्या तपाईँले नेताले पत्याउने भन्न खोज्नुभएको होला । यहि निर छ समस्या । पार्टि भित्र एउटा संगठनात्मक विधि, सु–ब्यबस्थित नहुदा खेरि नेतृत्व तहमा रहेको व्यक्तिलाई जे इच्छा लाग्यो अथवा उसलाई मन परेन भने, मन नपरेको सक्षम मान्छेलाई पनि पछाडि धकल्ने यस्ता प्रवृत्तिहरु त छन् । हाम्रो पार्टिको सन्दर्भमा पनि थुप्रै कुराहरु संगठनात्मक मामिलामा थुप्रै विषयमा हामिले समिक्षा गरेर यसलाई सु–ब्यबस्थित गर्नुपर्छ । “मुख्य जग भनेको जनता नै हो र छानो भनेको पार्टि नै हो ।” त्यसकारण जनता र पार्टि दुवै एकअर्का सँग जोडिएका छन् । नेतृत्वका लागि महत्वपूर्ण कुरा भनेको हामिले एउटा अध्ययनलाई पनि सु–ब्यबस्थित तरिकाले अगाडि बढाउनुपर्छ । हामिले गरेको अध्ययनलाई जीवन व्यावहारमा लागु गर्नुपर्यो । हरेक समय जनता र हाम्रो जिवनशैलीमा फरक नदेखिने गरि हामिले संगसँगै जनता भन्दा एक कदम अगाडि रहेर जनता कार्यकर्ता र नेतृत्व हामी संगसँगै अगाडि बढ्न सक्यौं भने सफल नेतृत्व हुन सक्छ । हामीले निति अनुसारको व्यावहार र जनताको र हाम्रो जीवनशैली सम्मान ढंगले अगाडि बढाउन सक्यौं भने त्यो नेतृत्व हुन्छ जस्तो लाग्छ मलाई ।

अन्त्यमा के भन्नुहुन्छ ?

सरकारको आफनो जनता प्रतिको जुन जिम्मेवारी हुन्छ त्यो पुरा गर्नुपर्छ । जनताले विश्वास गरेर पठाइ सकेपछि हामीले जनताको सेवा गर्ने हो । त्यो संगसँगै विकास निर्माण गर्नका लागि यो समाजको सकारात्मक परिवर्तनका लागि जनताको पनि कर्तव्य हुन्छ । उहाँहरुले पनि आफनो समाजको परिवर्तनको लागि, विकासको लागि आफनो योगदान दिनुपर्छ । हामी अधिकार लिने मात्रै होइन, कर्तव्यलाई पनि सँगसँगै जोडेर जानुपर्छ भन्ने मेरो सुझाव छ ।


प्रकाशित मिति: २३ पुष २०७९, शनिबार १८:३१

प्रतिक्रिया दिनुहोस्