Logo

२५ बैशाख २०८१, मंगलवार

राप्ती राजमार्ग स्तरोन्नतीको काम तत्कालै अघि बढाउने सरोकारवालाको निर्णय


खबर ग्यालरी


माघ २६,सल्यान ।
राप्ती राजमार्गको तत्कालै स्तरोन्नीमा सरोकारवालाहरुले चासो देखाएका छन् । राप्ती राजमार्ग अन्तर्गत चोरखोला देखी खौला सम्मको ८८.४ किलोमिटर सडकको स्तरोन्नतीको काम तत्कालै अघि बढाउने र सहज यात्राका लागि सरोकारवालाहरुले चासो देखाएका हुन् ।

यसै सन्दर्भमा आज बिहीबार जिल्ला प्रशासन कार्यालय सल्यानमा संघिय सांसद प्रकाश ज्वाला, सल्यान प्रदेशसभा क बाट निर्वाचित कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा, प्रदेशसभा ख का सांसद सुरेश अधिकारी, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, सडक डिभिजन दाङका प्रमुख राम पुकार जयसवाल, स्थानिय तहका जनप्रतिनिधि, राजनितिक दल, निर्माण व्यवसायि, पत्रकार लगाएत सरोकारवालाहरुको बैठक सम्पन्न भएको हो ।

बैठकले राप्ती राजमार्ग अन्तर्गत सल्यानको चोरखोला देखी खौला सम्मको सडक स्तरोन्नतीको काम तत्कालै अघि बढाउने निर्णय गरेको छ ।

सडकको मर्मतसम्भार, नाला निर्माण, ग्रावेल सहित केही क्षेत्रमा पिचको काम समेत भैरहेकाले ती कामहरुलाई तोकिएको समयमा नै सम्पन्न गर्न निर्माण व्यवसायिहरुलाई निर्देशन समेत दिइएको छ । सडक डिभिजन दाङका प्रमुख जयसवालले सडकको स्तरोन्नतीका लागि ठेक्का लगाएको लामो समय हुदाँ पनि निर्माण व्यवसायिले सोचे अनुसारको काम गर्न नसकेको बताउनुभएको छ ।

‘चोरखोला देखी खौलासम्म खण्ड–खण्ड गरेर १८ वटा ठेक्का लागेका छन्, केही निर्माण व्यवसायिले राम्रो काम गरेको भएपनि अधिकांश निर्माण व्यवसायिले काममा ढिलासुस्ती गरेको पाईएको छ, हामीले ताकेता गर्दै आएका छौँ, अहिले पनि कामको जिम्मा लिएर योजना अलपत्र पारेका निर्माण व्यवसायिलाई कालोसुचीमा राख्ने तयारी गरिएको छ’ उहाँले भन्नुभयो ‘जतीसक्यो छिटो मर्मतको काम सम्पन्न गर्न निर्देशन दिइएको छ ।’ उहाँले मर्मत सम्भारका योजना सम्पन्न नहुदाँ अरु थप योजनाका काम शुरु गर्न नमिल्ने भएकाले छिटो काम सम्पन्न गर्न निर्माण व्यवसायिलाई निर्देशन दिनुभएको छ ।

संघिय सांसद प्रकाश ज्वालाले राप्ती राजमार्गको स्तरोन्नतीमा बजेटको अभाव नहुनेभएकाले तोकिएको समयमा नै काम गर्न निर्माण व्यवसायिलाई आग्रह गर्नुभएको छ । उहाँले सडकको मर्मत सम्भार र स्तरोन्नी गरेर नागरिकलाई सहज गन्तव्यमा पुर्याउनु आफ्नो दायित्व भएकाले यो वा त्यो बहानामा काममा ढिलासुस्ती गर्न नहुने बताउनुभयो । ‘सडकको ठेक्का लिएर बिचमा काम अलपत्र पार्ने अधिकार कसैलाई छैन्, यदी कसैले त्यसो गरेको पाइएमा ठेक्का रद्ध गरेर अर्को ठेक्का खोल्ने र काम नगर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याइने छ’ उहाँले भन्नुभयो ।

बर्खामा हिलोका कारण सास्ती पाएका नागरिकले अहिले धुलोका कारण सास्ती पाउँदै आएकाले सहज आवतजावतका लागि मर्मतसम्भारको काम छिटो सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ ।


बैठकले राप्ती राजमार्गको बहुबर्षिय ठेक्का सम्बन्धि कागजात तयार पारेर सम्बन्धित निकायमा पेश गर्ने र बजेटका लागि सबै निकायले पहल गर्ने निर्णय समेत गरेको छ ।


प्रकाशित मिति: २६ माघ २०७९, बिहीबार २०:२७

प्रतिक्रिया दिनुहोस्