Logo

२५ बैशाख २०८१, मंगलवार

थारमारे-चौरजहारी सडक खण्डको बडागाउँ, रागेचौर सडक हिलाम्मे : गाडी नचल्दा यात्रुलाई सास्ती


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


सल्यान, ४ साउन ।
सल्यानको थारमारे, बडागाउँ, रागेचौर हुदैँ रुकुमपश्चिमको चौरजहारी जोड्ने सडकखण्ड अन्तर्गत कुमाख गाउँपालिकाको बडागाउँ देखि चिसापानी सम्मको सडकको अबस्था दयनीय बनेको छ।

थारमारे देखि माैलाहाले सम्मको सडक सुधार भएपनि बडागाउँ देखि चिसापानी सम्मको सडकको अबस्था भने दयनीय बनेको हो । वर्षायाम लागे सँगै अहिले यो सडक खण्डमा बडागाउँ भन्दा उता गाडी संचालन हुन सकेका छैनन् । जसले गर्दा यो भेगका नागरिकहरुले सास्ती बेहोर्नु परेको छ।

यस सडक खण्डमा करिब एक बर्ष पहिले बागचौर नगरपालिका भित्र पर्ने थारमारे-चारखोला हुदै पुतलीबास सम्मको झण्डै ८ किलोमिटर सडक कालोपत्रे गरिएको थियो। यस्तै यस सडक खण्ड अन्तर्गत कालोपत्रे गर्नका लागि पुतलीबास देखि चोरपानी हुदै माैलाहाले सम्मको करिब ८ किलोमिटर सडकलाई पनि केही महिना अगाडि ग्राबेल गरिएको थियो ।

यस्तै पुतलीबास हुँदै बडागाउँ – चिसापानी सम्मको सडकलाई पनि केही महिना अगाडि कटिङ गर्ने काम भएको थियो। तर अहिले थारमारे देखि माैलाहाले सम्मको सडक सुधार भएपनि वर्षायाम लागे सँगै बडागाउँ देखि उताको बाटो भने हिलाम्मे बनेको हो ।

बहुवर्षिय योजना अन्तर्गत काम अगाडि बढिरहेको यो सडक खण्डमा आर्थिक बर्ष २०७८/०७९ मा संघीय सरकारबाट १३ करोड ६७ लाख र प्रदेश सरकारबाट १३ करोड ६५ लाख गरि जम्मा २७ करोड २० लाख विनियोजन भएको थियो। यस्तै आर्थिक बर्ष २०७९/०८० मा पनि यो सडकका लागि २८ करोड प्रदेश सरकारबाट विनियोजन भएको थियो भने अहिले यो सडक खण्डमा कामको जिम्मेवारी पनि प्रदेश सरकारले नै लिएको छ।

सल्यानको कुमाख गाउँपालिका, दार्मा गाउँपालिका र पश्चिम रुकुमको चौरजहारी नगरपालिका जोड्ने मेरुदण्ड सडकका रुपमा चिनिने यो सडक खण्डमा विगतका बर्षदेखी नै यस सडकको मर्मत तथा स्तरोन्नतीको लागी करोडौँ रुपयौँ खर्च हुदैँ आएपनि यसको सहि तरिकाले कार्यान्वयन हुन नसकेको स्थानीयहरुले बताउने गरेका छन्।

ठेक्का लिने ठेकेदारले समयमै काम सम्पन्न गर्न नसकेका कारण यो सडकको अवस्था नाजुक भएको स्थानिय कुमाख गाउँपालिका -६ निवासी लोकबहादुर खत्रीले बताउनुभयो। यो सडकको काम वर्षायाम लाग्ने बेला गर्न खोजेका कारण पनि यहाँका नागरिकहरुले सास्ती बेहोर्नु परेको उहाँको भनाइ छ।

यस्तै कुमाख गाउँपालिका- ६ निवासी केवल प्रशाद शर्माले माैलाहाले देखि खाराखोला सम्म पहिले ग्राभेल भएको र अगाडिका बर्षहरुमा बाह्रै महिना गाडी संचालन भएको बताउनुभयो। ‘अहिले बाटो कटिङको काम भइरहेकाले पनि पुरानो ग्राभेल माटाेमुनि दबिएको छ, पानी नपरेका दिन बडागाउँ सम्म मात्र गाडी आउँछन्, पानी धेरै पर्यो भने माैलाहाले सम्म मात्रै गाडी आउन्’ उहाँले भन्नुभयो।

बाटाे कटिङ गर्ने समयमा नाला नबनाएका कारण र ठेकेदारको लापरबाहीले गर्दा पनि अहिले बाटाेको अबस्था नाजुक भएको शर्माको भनाइ छ। ‘ठेकेदारलाई अहिले नै कालोपत्रे गर्नुपर्यो भनेर पनि भन्न सकिन्न, यो बाटाेमा कटिङको काम भइरहेकै छ, काम नगर्नुहोस् पनि भन्न सकिन्न समस्या यहीँनिर छ’ उहाँले भन्नुभयो। 

यस्तै गाडी साहु दाङ बबई गाउँपालिका-६ पञ्चकुले निवासी लोकराज डाँगीले अहिले वर्षायाम लागे प्रस्चात बडागाउँ सम्म मात्रै गाडी जाने भएकाले बिना यात्रु खालिखालि आउने र जाने मात्र भएको बताउनुभयो । ‘यात्रुहरुलाई केही सहज होला भनेर माैलाहाले देखि बडागाउँ सम्म गाडी ल्याएका हाैं, धेरै पानी परेका दिन माैलाहाले भन्दा अगाडि गाडी जानै सक्दैन, स्थानिय सरकारले पनि बाटोको मर्मत गर्न कुनै चासो देखाएको देखिदैन, जसले गर्दा सबैले दुख पाएका छाैं’ उहाँले भन्नुभयो । 


प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार ०८:३३

प्रतिक्रिया दिनुहोस्