Logo

२५ बैशाख २०८१, मंगलवार

यस्तो लाग्यो सल्यानको कुमाख मेला : [ फोटाे फिचर ]


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


कार्तिक ११, सल्यान ।
कोजाग्रत पूर्णीमाको अवसरमा सल्यानको कुमाख गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकाको सिमानामा पर्ने जिल्लाको दोस्रो अग्लो पहाडका रुपमा परिचित कुमाख लेकको फेदमा आज जिल्लाकै सबैभन्दा ठूलो कुमाख मेला लागेको छ ।

वरिपरी पहाडका अग्लाहोचा थुम्का, हरियो वनजङ्गल, रोटे पिङ, जेरी, केरा, बदाम, विभिन्न फलफूल लगाएत अन्य चिजबस्तुहरु पाईनुनै कुमाख मेलाका मुख्य बिशेषता हुन ।

कुमाखको फेदमा परापुर्बकाल देखि लाग्दै आएको कुमाख मेलालाई सल्यानको कला र संस्कृती सँग पनि जोडेको पाइन्छ । झ्याउरे नाच, टप्पा नाच, मयुर नाच, सोरठी जस्ता नाचहरु यो मेलामा केही बर्ष अगाडि प्रमुख आकर्षण हुने गर्दथिए । तर समय परिवर्तन सँगै अहिले कुमाख मेलामा मयुर नाच बाहेक अन्य नाचहरु लोप हुदै गएको देख्न सकिन्छ ।

समुन्द्री सतहबाट २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख लेकमा पुग्न, कुमाख मेला लाग्ने स्थान देखि करिब २ घण्टा पैदल मार्ग भएको उकालो बाटो हिड्नुपर्छ । जंगलको ठाडो उकालो बाटो हिड्दै गर्दा थकाइ लागेर बसेका जोकोहीलाई यहाँको प्रकृतिमा भएको बासनादार बहारले छिनभरमै थकाइ मेटाइदिन्छ ।

कुमाख लेकको चुचुरोमा सिद्ध मन्दिर साथै नजिकै सिद्ध गुफा समेत रहेको छ । कुमाख पहाडको आसपासमा विभिन्न जडिवुटी, वनस्पती, विभिन्न चुन ढुंगाहरु, फूलहरुका साथै चराचुरुंगी र विभिन्न जनावरहरु समेत पाइने गर्दछन् ।

मौसम सफा भएको खण्डमा कुमाख लेकको टुप्पोबाट सल्यान जिल्लाका विभिन्न ठाउँहरुका साथै पश्चिम नेपालका करिब १५ जिल्लाका भू–भागहरु, मुस्कुराईरहेका सिस्ने र धौलागिरी हिमाल लगायतका विभिन्न हिमश्रृङ्खला, पहाड, पर्वत, पाखापखेरा र तराईका समथर मैदानहरुको समेत अनुपम दृश्यावलोकन गर्न सकिन्छ ।

प्राकृतिक, धार्मिक एवं सांस्कृतिक तवर सँगै पर्यटकिय हासबले उत्कृष्ट मानिएको कुमाख मेला हेर्न जिल्लाका विभिन्न ठाउँ लगायत छिमेकी जिल्ला दाङ, रोल्पा, सुर्खेत, जाजरकोट र रुकुम आसपासका जिल्लाबाट समेत मानिसहरु यहाँ मेला हेर्न आउने गर्दछन् ।

हेर्नुहोस् सल्यानको कुमाख मेलाका तस्बिरहरु :


प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार १७:५०

प्रतिक्रिया दिनुहोस्