Logo

२४ बैशाख २०८१, सोमबार

जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितलाई सल्यानका स्थानीय तहले २० लाख सहयोग गर्ने


खबर ग्यालरी


कार्तिक १९, सल्यान ।

सल्यान जिल्लाका १० स्थानीय तहहरुले जाजरकोट र रुकुम पश्चिमका भूकम्पबाट घाइते भएकाको उद्धार, पुनस्स्थापना र पीडितलाई राहत स्वरुप २० लाख रकम सहयोग गर्ने भएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलको अध्यक्षतामा आज आइतबार बसेको विपदसम्बन्धी बैठकको निर्णयअनुसार जिल्लाका १० वटा स्थानीय तहहरुले दुई/दुई लाख रुपैयाँका दरले सहयोग गर्ने भएका हुन् ।

स्थानीय तहले उपलब्ध गराएको दुई/दुई लाख रकम जिल्ला विपद व्यवस्थापन कोषमा जम्मा गरिने र उक्त रकमको ६० प्रतिशत जाजरकोट र ४० प्रतिशत पश्चिम रुकुमका पीडितका लागि उपलब्ध गराउने जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले जानकारी दिनुभयो ।

भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न, जिन्सी तथा सामग्री संकलन गरेर दिने भन्दा नगद उपलब्ध गराए पीडित परिवारले आवश्यकता अनुसारको सामग्री किन्न पाउने भएकाले जिल्ला विपद व्यवस्थापन मार्फत नै रकम पठाउन थालेको बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले जानकारी दिनुभयो ।

यसैबीच कात्तिक १७ गते राति जाजरकोट केन्द्र बनाई गएको भूकम्पका कारण सल्यानमा क्षतिग्रस्त भएका भौतिक संरचनाहरुको तथ्यांक संकलन धमाधम भइरहेको विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले जानकारी दिनुभयो ।

जिल्लाका भूकम्प पीडितहरुलाई विपद पीडित उद्धार तथा राहत वितरणसम्बन्धी मापदण्ड, २०७७ बमोजिम राहत वितरण गर्ने, क्षतिग्रस्त संरचनाहरुको स्थानीय तहबाट समेत यथार्थ विवरण संकलन गरी आ-आफ्नो क्षेत्रबाट समेत राहत वितरणको तयारी भइरहेको उँहाको भनाई छ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्लाका दार्मा गाउँपालिका, कुमाख गाउँपालिका र बागचौर नगरपालिकामा तत्काल रेडक्रसले त्रिपाल लगायतका सामग्री उपलब्ध गराउन थालेको समेत उँहाले जानकारी दिनुभयो ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार २१:३२

प्रतिक्रिया दिनुहोस्