Logo

२५ बैशाख २०८१, मंगलवार

सल्यानको टाट्के मेलामा विद्यार्थीहरुको नमुना काम : प्रयोगात्मक अभ्यासमा खाजा पसल सञ्चालन


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


पाैष १२, सल्यान
सल्यानको बागचौर नगरपालिका वडा नं ७ कोटबारा टाट्केमा हरेक बर्ष पौष ११ गते लाग्दै आएको स्थानीय मेला एवम् सांस्कृतिक उत्सव कोटबारा टाट्के मेला हिजो सम्पन्न भएको छ ।

मेलाको अवसरमा सल्यानको बागचाैर नगरपालिका वडा नम्बर ९ खोरबारेको शिशु जागरण माविको आयोजना एवम् व्यवस्थापनमा कक्षा १० का छात्रछात्राहरुको विशेष सहभागितामा खाजा पसल सञ्चालन गरिएको थियो ।

कक्षा १० को गणित र अर्थशास्त्र विषयको पाठ्यवस्तुमा आधारित परियोजना कार्य सफलतापुर्बक सम्पन्न गर्दै टाट्के मेलामा विद्यार्थीहरुको आफ्नै आर्थिक स्रोतमा करिब १२ हजार पुँजी लगानी र आफ्नै श्रम तथा सिपको प्रयोगबाट मेला हेर्न आउने मेलारुजनहरुको लागि खाजा पसल सञ्चालन गरिएको थियो। उक्त खाजा पसलबाट करिब १५ हजार बराबरको नगद कारोबारमा औसतमा ३० रुपैयाको दरले करिब ५०० सेवाग्राहीहरुले प्रत्यक्ष सेवा प्राप्त गरेका छन् ।

सामुदायिक विद्यालयहरुका कक्षाकोठा र पाठ्यपुस्तकमा सिमित परम्परागत र शिक्षक केन्द्रित शिक्षणविधिको रूपमा प्रवचन विधिलाई व्यापक रूपमा प्रयोग गर्ने गरिएकोले, उक्त विधिको विकल्पमा विद्यार्थी केन्द्रित शिक्षणविधिहरु अन्तर्गत प्रयोगात्मक र परियोजना विधिलाई नमुनाको रूपमा प्रयोग गर्न टाट्के मेलाको अवसरमा यो कार्यक्रम अगाडि सारिएको शिशु जागरण माविका शिक्षक विरेन्द्र प्रकाश डि.सी. ले जानकारी दिनुभयो ।

कक्षा १० को अनिवार्य गणित विषय अन्तर्गत घरायसी अंकगणितका नाफा, नोक्सान र ऐकिक नियमका गणितीय विषयवस्तुहरु र अर्थशास्त्र विषय अन्तर्गतका मागको नियम पुर्तीको नियम, वस्तुको मूल्य निर्धारणमा माग र पुर्तिको अन्तरक्रिया, नाफाको अनिश्चितता सिद्धान्त, आय र लागत सिद्धान्त, बजार र बजारको वर्गीकरण, पुँजी निर्माण, सहकारिता र श्रम विभाजन जस्ता विषयवस्तुहरुको शिक्षण सिकाइमा यो परियोजना केन्द्रित रहेकोे उहाँले जानकारी दिनुभयो । 

यस्तै उद्यमशिलता, व्यापार, व्यवसायमा लगानी र अवसरको सिर्जना तथा नाफा आर्जनको प्रत्यक्ष अनुभव र अभ्यास गर्ने यसको मुल उद्देश्य रहेको र कक्षाकोठा तथा पाठ्यपुस्तकबाट महिनौंसम्म सिकाउन नसकिएका ज्ञान सीप विद्यार्थीहरुले एकै दिनमा सिक्ने अवसर प्राप्त गरेको शिशु जागरण माविका प्रधानाध्यापक रुपलाल भण्डारीले जानकारी दिनुभयो ।

यस्तै टाट्के मेलामा विद्यार्थीहरुले गरेको खाजा पसल सञ्चालन कार्यबाट सम्पूर्ण खर्च कटाएर करिब ३ हजार नगद नाफा आर्जन गरिएको र उक्त नाफा रकमबाट परियोजना कार्यमा सहभागी छात्रछात्राहरुलाई स्टेसनरी सामग्रीहरु पुरस्कार सहित आज विद्यालयमा सम्मान गरिएको शिशु जागरण मावि खोरबारेले जनाएको छ ।


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार १९:५६

प्रतिक्रिया दिनुहोस्