Logo

२४ बैशाख २०८१, सोमबार

समय अजर, अमर र अनन्त छ

अन्य देशहरूमा कुनै पनि बस स्टेसनहरुमा बसहरू आउन र जान एक सेकेन्ड पनि ढिला गर्दैनन् तर एकपल्ट नेपाली बस स्टेसनहरूतर्फ हेरौं त, बिहान ९ः०० बजे हिँड्ने भनेको बस ९ः३० बजे त के ९ः५० हुँदा पनि अलमलिए झैँ गरेर स्टार्ट हुन्छ ।


पवन डि.सी.


समय अजर, अमर र अनन्त छ । यो कसैको काबुमा छैन । यो कसैको नियन्त्रणमा छैन । यो स्वतन्त्र छ । यसलाई कसैको पनि डर, त्रास छैन । यो सधैं आफ्नै गतिमा चलिरहन्छ । समय भन्दा छिटो कोही चल्न सक्दैन । 

तर कोही महान व्याक्तिहरु भने समय संगै हिडिरहेका हुन्छन् । सामान्य मानिस समयसँगै हिड्न नसके पनि समयको पछि पछी हिड्ने कोसिस गर्न त सक्छन् । समयको महत्व नबुझेरै समयको जालोमा परेको छ हाम्रो नेपाली समाज । ढिला भयो भने मानिसहरु भन्छन् “नेपाली समय हो ढिला हुनु त स्वभाविक नै हो ।”

नेपाली मानिसहरू समय भन्दा धेरै पछाडी छन् । पढेलेखेका शिक्षित भनिएकाहरुले नै समयको महत्व बुझदैनन् भने के सिकाउने, के बुझाउने, अब आउने भावि पुस्तालाई । नेपाली समयका उदाहरण त अनगन्ती नै छन् तर मानिसहरुको दैनिक जीवनमा आइपर्ने केहि समयका समस्याका उदाहरणहरु यसप्रकार छन् ।

एउटा नेपाली बस स्टेसनकै उदाहरण हेर्दा :

अन्य देशहरूमा कुनै पनि बस स्टेसनहरुमा बसहरू आउन र जान एक सेकेन्ड पनि ढिला गर्दैनन् तर एकपल्ट नेपाली बस स्टेसनहरूतर्फ हेरौं त, बिहान ९ः०० बजे हिँड्ने भनेको बस ९ः३० बजे त के ९ः५० हुँदा पनि अलमलिए झैँ गरेर स्टार्ट हुन्छ । त्यही ९ः०० बजे हिँड्ने भनेको बसले आधा देखि १ घण्टासम्म पनि ढिला गरिदिन्छ । यसको नतिजा अनुरुप प्यासेन्जरहरू पनि भन्छन् “किन पुग्ने हो र समयमै नेपाली समय हो, बसले गर्ला नि ढिला एक घण्टा नभए पनि आधा घण्टा त पक्कै ढिला गर्छ, नेपाली समय जो हो ।”

अन्य स्थानहरू त स्वाभाविक नै भइसके तर एउटा विद्यालयकै उदाहरण हेरौं न :

एउटा विद्यार्थी दैनिक विद्यालय जान्छ तर त्यही विद्यालयमा उसले समयको महत्व बुझ्दैन अनि अन्य ठाउँहरू स्वभाविक नै हुन्छ । हरेक विद्यालयमा १०ः०० बजे विद्यालयमा पुगिसकेको हुनुपर्छ तर विद्यार्थी १०ः३० बजे वा ११ः०० बजे सम्म विद्यालयमा पुग्छ ।

किन ?

किनभने ११ः०० बज्दा पनि विद्यालयको गेट बन्द भएको हुँदैन । जुन गेट १०ः०० बजे नै बन्द हुनुपर्छ त्यो त ११ः०० बज्दा पनि बन्द हुँदैन । अनि विद्यार्थीले किन गरोस् समयको प्रवाह ? विद्यार्थीलाई भोलिका देशका कर्णधार भनिन्छ तर त्यो देशको कर्णधारले विद्यालयमा पनि समयको महत्व बुझ्दैन भने उसले कहाँ बुझ्ने त समयको महत्व ? एउटा विद्यार्थीलाई समयको महत्व थाहा हुँदैन भने कसलाई थाहा हुन्छ समयको महत्व ? देश विकास गर्नुछ भने समयको महत्व पनि थाहा हुनुपर्छ । एउटा साधारण भन्दा साधारण मानिसलाई पनि समयको महत्व थाहा हुनुपर्छ ।

तर आखिर किन बन्यो नेपाली समय यस्तो ? किन मजाक उडाउँछन् मानिसहरू नेपाली समयको ? कसैलाई ढिला भयो भन्ने किन भनिन्छ ? “नेपाली समय हो ढिला त भइहाल्छ नि” किन ढिलो समय भनिन्छ नेपाली समयलाई ? कहिले बुझ्ने हामीले समयको महत्व ? हामिले नबुझे कस्ले बुझ्ने समयको महत्व ?

यसर्थ : समय सधैँ आफ्नै गतिमा हुन्छ । उसलाई कसैले रोक्न सक्दैन तर उसको पछिपछि सधैँ दौडन सक्नुपर्छ । अहिलेको समयमा नेपाली समय एउटा मजाकको शब्द बनिसकेको छ । यदि सबैजना आफैमा जिम्मेवारी भएर समयको महत्व बुझ्न सके भने सायद भविष्यमा नेपाली समय मजाक बन्ने छैन । “सकिन्छ सुधार गरौं सकिदैन समय नबिगारौँ ।”

लेखक श्री शिशु जागरण माध्यमिक विद्यालय बागचौर नगरपालिका ९ खोरबारे सल्यानमा कक्षा १० मा अध्ययनरत हुनुहुन्छ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार १८:१५

प्रतिक्रिया दिनुहोस्